काठमाडौँ- ग्लोबल पिस लिडरसिप कन्फरेन्स भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। चैत २८ देखि तीन दिनसम्म चलेको कार्यक्रममा विश्वभर शान्ति फैलाउने अठोट गर्दै ३० भन्दा बढी देशका शान्तिका पक्षधर प्रतिनिधिको सहभागिता थियो। भेलामा शान्ति कायम गर्ने विविध उपायहरू बारेमा छलफल भएको हो।
कार्यक्रममा हरेक क्षेत्रमा युवालाई प्राथमिकता दिने, शिक्षामा पहुँच, मानिसभित्र रहेको शान्त स्वभावलाई बाहिर ल्याउन भूमिका खेल्ने, व्यक्ति आफैँले आफैँलाई माया गर्ने, सेवाभाव राख्नेजस्ता विषयलाई शान्तिको सूत्रका रुपमा दर्शाइएको छ।
कन्फरेन्सले शान्तिका लागि पर्यावरण संरक्षण पनि उत्तिकै महत्त्वपूर्ण रहेको निष्कर्ष निकाल्दै शान्तिका लागि थप सशक्त रूपमा काम गर्ने अठोट लिएको छ। ग्लोबल पिस फाउन्डेसन इन्डियाका अध्यक्ष मार्कण्डेय रायले हरेक व्यक्ति पृथ्वीको मित्र बन्नुपर्ने बताए। उनले शान्तिका लागि प्रकृतिमा धेरै शक्ति रहेको भन्दै त्यसको उपयोगमा जोड दिए।
फाउन्डेसनका अन्तर्राष्ट्रिय अध्यक्ष जेम्स पी. फ्लिनले भविष्यलाई ध्यानमा राख्दै वर्तमानका कदमहरू चालिनुपर्नेमा जोड दिए। उनले विश्वशान्ति अपहरिहार्य रहेको भन्दै त्यसका लागि सबै क्षेत्रबाट साहसिक र सहयोगात्मक व्यवहार जरुरी हुने तथ्य औँल्याए। कन्फरेन्समा नेपालका विभिन्न जिल्लाका गरी ६० जनाको सहभागिता थियो।