पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिकामा चौँरी महोत्सव गरिएको छ। परम्परागत चौँरीपालन पेसाको संरक्षण तथा चौँरीमा आधारित पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले २०७४ देखि आयोजना हुन थालेको महोत्सव यस वर्ष फालेलुङ गाउँपालिका-४ चार रातेको नेपाल-भारत सीमा क्षेत्रमा गरिएको हो।
दुई दिने महोत्सवमा विशेषतः चौँरी र चौँरीजन्य उत्पादन, संस्कृति र परम्पराको प्रदर्शनी, उच्च पहाडी क्षेत्रका उत्पादन तथा परम्परा झल्काउने प्रयास गरिएको थियो। विश्वका सात वटा राष्ट्रमा मात्रै पाइने चौँरीको संरक्षण तथा नेपालमा परम्परागत रूपमा गोठ सार्दै चौँरीपालन गर्ने परम्पराको सम्वर्द्धन गर्ने अभिप्रायसहित आयोजकले महोत्सव सञ्चालन गर्ने गरेका छन्।
यस वर्षको महोत्सवमा नेपाल–भारत सीमावर्ती फालोट क्षेत्रका गोठबाट भेला गरिएका विभिन्न प्रजातिका करिब पाँच सय चौँरी र याकको प्रदर्शनी, नश्ल सुधारका लागि भुटानबाट ल्याइएका याकको प्रदर्शनी, चौँरीबाट उत्पादित र फालोट क्षेत्रका सामग्रीको प्रदर्शनी महोत्सवका मुख्य आकर्षण थिए। यस अतिरिक्त फालोट क्षेत्रमा पाइने जडीबुटी, यहाँका बासिन्दाले उत्पादन गर्ने स्थानीय खाद्य परिकार, भेडाको ऊनबाट निर्मित सामग्रीसमेत प्रदर्शनी र बिक्रीका लागि राखिएका थिए।
पर्यटकको आकर्षणका लागि गोठ बास (गोठ-स्टे)को अनुभव, चौँरीपालन गर्ने उत्कृष्ट पालकलाई सम्मान, उच्च पहाडमा साहसिक पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र हिमालय बाइकिङलगायत कार्यक्रम आयोजना गरिएको आयोजक फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले जानकारी दिए।
फालेलुङ गाउँपालिकाको मुख्य आयोजना र फालेलुङ कञ्चनजंघा पर्यापर्यटन प्रवर्द्धन संस्था, दीपज्योति युवा क्लब र कञ्चनजंघा चौंँरीपालन तथा संरक्षण संस्थाको सहआयोजनामा महोत्सव सम्पन्न भएको हो। सो अवसरमा महोत्सवका प्रमुख अतिथि सहरी विकासमन्त्री सीता गुरुङले हिमालय बाइकिङ सडकको शिलान्यास गरे।
उक्त सडक २० किलोमिटर लामो हुने उपाध्यक्ष जबेगूको भनाइ छ। महोत्सवमा विशेषतः स्थानीय पर्यटकको उपस्थिति बाक्लो हुने गर्दछ। यस वर्ष मुलुकका विभिन्न जिल्लासहित छिमेकीमूलुक भारत र भुटानबाटसमेत महोत्सवमा रमाइलो गर्न पर्यटक आएका महोत्सवको सहआयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए। पाँचथरमा नेपाल–भारत सीमा क्षेत्रको करिब ४५ किलोमिटर क्षेत्र पर्दछ।
केही समय हिउँले पनि ढाकिने सीमाबाट नेपाल, भारत र भुटानका हिमशृङ्खलाको दृश्यावलोकन, चैत र वैशाख महिनामा गुराँस र चाँपका फूलको मनमोहक दृश्य देख्न सकिन्छ। रासस