बजेट अभावले हुम्लामा क्याम्पस भवन अधुरै

हिमाल प्रेस २ वैशाख २०८० १४:४०
2
SHARE
बजेट अभावले हुम्लामा क्याम्पस भवन अधुरै

हुम्ला- बजेट अभावका कारण हुम्लाको अदानचुली गाउँपालिकामा रहेको गल्फागाड बहुमुखी क्याम्पसको भवन अधुरै रहेको छ। निर्माणाधीन दुईकोठे भवन बजेट अभावकै पूरा हुन नसक्दा विद्यार्थी मर्कामा परेका छन्।

कर्णाली प्रदेश सरकारको २० लाख रुपैयाँ बजेटमा भवन निर्माण थालिएको क्याम्पस प्रमुख रणसुर रोकायाले बताए। भवन निमार्णका लागि जग्गा खरिदलगायत काम गरेपछि बजेट अपुग भएको उनले बताए। गत आर्थिक वर्षमा भवन निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइए पनि बजेट नहुँदा सम्पन्न गर्न नसकिएको उनको भनाइ थियो।

भवन निमार्णका लागि आवश्यक जग्गा खरिद गर्न ५ लाख ५० हजार रुपैयाँ र जग्गा सम्याउन १ लाख २८ हजार रुपैयाँ खर्च भएको थियो। ‘बजेटका लागि गाउँपालिका र अन्य निकायसँग आग्रह गरे पनि सहयोग पाउन सकेका छैनौँ,’ क्याम्पस प्रमुख रोकायाले भने, ‘क्याम्पसलाई आर्थिक र भौतिक पूर्वाधारको अभाव छ।’

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी कक्षा सञ्चालन गरेको क्याम्पसका प्राचार्यको तलब सुविधादेखि भौतिक संरचनाको विकासका लागि आर्थिक समस्या छ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि क्याम्पस स्थापना गरिएको हो। त्रिविले मानविकी संकायतर्फ अध्यापनका लागि अनुमति दिन तयार भए पनि आर्थिक स्रोतको अभावमा जनशक्तिदेखि भौतिक पूर्वाधार तयार पार्न नसकिएको क्याम्पस प्रमुख रोकायाको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयले बर्सेनि अनुदान रकम दिए पनि नपुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष दल फडेराले बताए। ‘भवन निर्माण र कर्मचारीलाई तलब दिन रकम छैन,’ उनले भने, ‘स्रोतको खोजीका लागि भौँतारिरहेका छौँ।’

विद्यार्थीबाट शुल्क लिएर क्याम्पस सञ्चालन गर्न सम्भव नभएको उनको भनाइ छ। क्याम्पसको भवन निर्माण गर्न साढे ५ लाख रुपैयाँ खर्च भएको थियो। अदानचुली–३ का पूर्ववडाध्यक्ष दत्त विष्टले जग्गाको लालपुर्जा क्याम्पसको नाममा बनाउन नसकिएको बताए।

जग्गाधनीले भवन निमार्णका लागि प्रयोग भएको जग्गा गल्फागाड बहुमुखी क्याम्पस श्रीनगरका नाममा रजिष्ट्रेसन पास गर्न मानेका छैनन्। रासस

प्रकाशित: २ वैशाख २०८० १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =