फिल्म र संगीत क्षेत्रका लागि तीन नयाँ नियम

हिमाल प्रेस १ वैशाख २०८० १७:३९
6
SHARES
फिल्म र संगीत क्षेत्रका लागि तीन नयाँ नियम

काठमाडौँ– चलचित्र विकास बोर्ड, प्राविधिक संघ र चलचित्र नृत्य संघले नेपाली फिल्म र संगीत क्षेत्रका लागि महत्त्वपूर्ण नियम कार्यान्वयनमा ल्याएका छन्। नयाँ वर्षको अवसरमा यी तीन संस्थाले तीन महत्वपूर्ण नियम लागु गरेका हुन्।

यस्ता छन् तीन नियम

प्राविधिकमा सिफ्ट प्रणाली

चलचित्र प्राविधिक संघले वैशाख १ देखि सिफ्ट सिस्टम लागु गरेको छ। नियमअनुसार प्राविधिकले १२ घण्टालाई एक सिफ्ट तोकेर काम गर्नुपर्नेछ।

त्यसभन्दा बढी अतिरिक्त समय काम गर्नुपरे निर्माताले अतिरिक्त पारिश्रमिक तिर्नुपर्नेछ। अन्तर्राष्ट्रिय अभ्यास र नेपाली फिल्मको वर्तमान बजारलाई ध्यान राखेर सिफ्ट प्रणालीको नियम कार्यान्वयनमा ल्याएको नेफ्टाले जानकारी दिएको छ।

फिल्मका लागि सम्झौता गर्दा सो नियमबारे ख्याल गर्न नेफ्टाले निर्माण पक्षलाई आग्रह गरेको छ।

वैशाखदेखि फिल्मको मासिक आम्दानी सार्वजनिक गर्ने

चलचित्र विकास बोर्डले वैशाखदेखि नियमित रूपमा नेपाली फिल्मको आधिकारिक कमाइ सार्वजनिक गर्ने भएको छ। गत साता २०७९ सालमा प्रदर्शनमा आएका १३२ फिल्मको कमाइ सार्वजनिक गरेको बोर्डले वैशाखदेखि मासिक रूपमा नियमित कमाइ सार्वजनिक गर्ने भएको हो।

बोर्ड अध्यक्ष भुवन केसीले यस्तो नियमले निर्मातादेखि मिडिया र नागरिक सबैलाई फाइदा पुग्ने बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको छलफलपछि यो व्यवस्था ल्याएको बोर्डले जनाएको छ।

चलचित्र नृत्य कलाकारको पारिश्रमिक वृद्धि

शुक्रबार (आज)देखि लागु हुने गरी चलचित्र नृत्य संघले फिल्म तथा म्युजिक भिडियोका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि गरेको छ। फिल्म र भाषाभाषीका फिल्मको गीत छायांकन गर्दा एकै दिनमा सकिए ३ हजार रुपैयाँ, दुई दिनमा सकिए ५ हजार र ३ दिनमा सकिए ६ हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ।

म्युजिक भिडियोका डान्सरको १ दिनमा २ हजार र विदेशी डान्सरको हकमा ३ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो बजार अवस्थाअनुसार पारिश्रमिक निर्धारण गरिएको नृत्य संघले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast