जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-१३ की मिथलेसिया देवीलाई गत वर्ष साउनमा घरमै विषालु सर्प करेतले डस्यो। तत्कालै जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना गरियो। समयमै अस्पताल पुगेकाले उनको उपचार सम्भव भयो। निको भई घर फर्किइन्।
उपचारका क्रममा उनलाई सर्पको डसाइबाट बच्ने विभिन्न उपायबारे समेत जानकारी गराइएको थियो। एक महिनापछि उनी त्यसरी नै सर्पको डसाइबाट बिरामी हुन पुगिन्। ‘मलाई फेरि त्यही ठाउँमा त्यही समयमा करेतले डसेको थियो,’ उनले हिमालप्रेससँग भनिन्, ‘दोस्रो पटक भने सर्पको विष लागिसकेका बेला अस्पताल भर्ना भएँ। समयमै उपचार पाएपछि ठिक भएँ।’ चिकित्सकले भनेको कुरामा ध्यान नदिँदा दोस्रोपटक सर्पको डसाइमा परेको मिथलेसियाले स्वीकारिन्।
गर्मीयाम सुरु भएसँगै तराईमधेशमा सर्पको बिगबिगी बढेको छ। सजगता नअपनाउने हो भने सर्पको डसाइमा पर्ने जोखिम धेरै छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख मुक्तिनारायण साह भन्छन्, ‘गर्मीयाम बढ्दै गइरहेको छ। आवश्यक सतर्कता अपनाउनु जरुरी छ।’
सयवटा सर्पदंशका घटनामध्ये १० प्रतिशतलाई मात्रै विषालु सर्पले डसेको देखिन्छ। प्रारम्भिक उपाय अपनाउने हो भने १० प्रतिशतभन्दा पनि कम गराउन सकिने उनले बताए।
सर्पदंशको उपचार मधेश प्रदेशका आठवटै जिल्लामा रहेको जिल्ला अस्पतालमा हुन्छ। यस्तै संघीय सरकार मातहतको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पनि उपचारको व्यवस्था छ। सर्पदंंशको छुट्टै उपचार हुने अस्पताल भने महोत्तरी, सिरहा र धनुषामा छन्।
सामाजिक विकास मन्त्रालयका प्रवक्तासमेत रहेका प्रमुख साहका अनुसार प्रदेशभित्र सर्पदंशबाट मृत्यु हुनेको विवरण छैन। उनी भन्छन्, ‘प्रत्येक १० जनामध्ये विषालु सर्पको डसाइबाट दुई जनाको मृत्यु हुने गरेको छ।’
विषालु सर्पले डसेकाे कुरा बिरामीले समयमै थाहा नपाउनु, प्रत्येक अस्पतालमा गम्भीर प्रकृतिका बिरामीका लागि आईसीयू, भेन्टिलेटरलगायतका अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध नहुनु, सर्पदंशको उपचार गर्ने दक्ष जनशक्ति नहुनु जस्ता कारणले मृत्यु हुने गरेको छ।
विषालु सर्पले डस्दा बिरामीलाई १ देखि डेढ घण्टाभित्र सम्बन्धित अस्पतालमा पुर्याए उनीहरूको ज्यान जोगाउन सकिने चिकित्सकहरू बताउँछन्। तर जनचेतनाको कमीका कारण कतिपय व्यक्तिहरू सर्पले डसेपछि अस्पताल जानुको सट्टा धामीझाँक्रीकहाँ पुग्ने गरेका छन्।
यस्ता भ्रम चिर्न संघीय सरकार र प्रदेश सरकार सचेत रहेको साहको भनाइ छ। उनी भन्छन्, ‘हरेक वर्ष सामाजिक विकास मन्त्रालयले सर्पदंश, कुकुरको टोकाइबाट बिरामी भएका सर्वसाधारणको उपचार कसरी गर्ने त्यसबारे चिकित्सक, नर्ससहितका जनशक्तिलाई प्रशिक्षण दिँदै आएको छ।’ यस्तै सर्पदंश उपचार केन्द्रमा तालिम प्राप्त जनशक्ति उपलब्ध गराउनुका साथै आवश्यक औषधिसमेत दिइँदै आएको छ।
विज्ञहरूका अनुसार विषालु सर्पको डसाइपछि एन्टी स्नेक भेनम र त्यसको सहायक औषधि प्रयोग गर्नुपर्छ।
उपचार केन्द्रको अवस्था दयनीय
सर्पदंशका बिरामीको उपचार हुने सेवा केन्द्र भने व्यवस्थित बन्न सकेका छैनन्। स्थानीय सरकारले पूर्वाधारको उचित प्रबन्ध गर्न नसक्दा उपचारमा समस्या भइरहेको सम्बन्धित उपचार केन्द्रका व्यवस्थापकहरूको गुनासो छ।
सर्पदंश उपचार सेवा केन्द्र महेन्द्रनगरका सञ्चालक समितिका अध्यक्ष राजकिशोर राउत स्थानीय तह र प्रदेश सरकारको असहयोगका कारण केन्द्रको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गइरहेको बताउँछन्।
धनुषास्थित सेवा केन्द्रको स्थापना भएको ३ वर्ष भएको छ। स्थापनाको पहिलो वर्ष १३ जना र दोस्रो वर्ष साढे दुई सय जनाले सेवा लिएका थिए। यस वर्ष फागुन महिनासम्म ५ सय ७६ जनाले सेवा लिइसकेका छन्।
राउतका अनुसार यहाँ धनुषा, महोत्तरीका विभिन्न गाउँ, सिरहा तथा भारत बिहार राज्यको सुरसन्ड, मधवापुर, बासोपट्टी, उमगाँवबाट समेत बिरामी पुग्ने गरेका छन्। पहिलो वर्ष स्थानीय तहले समन्वय गरिदिँदा प्रभावकारी ढंगले सञ्चालन भएको उपचार केन्द्र बिस्तारै बेवास्तामा परेको छ। कर्मचारी व्यवस्थापन पनि हुन नसकेको अध्यक्ष राउतको गुनासो छ।
अस्पताल सञ्चालन हुँदा स्थानीय सरकार, अस्पताल सञ्चालक समिति, नेपाली सेनाका प्रतिनिधि र राजनीतिक दल सम्मिलित बैठकले सेवा केन्द्रको सम्पूर्ण आर्थिक जिम्मेवारी स्थानीय सरकार अर्थात् क्षिरेश्वरनाथ नगरपालिकाले उठाउने निर्णय गरेको थियो।
अध्यक्ष राउतले भने, ‘जसअनुसार नगरपालिकाले दुई वर्षसम्म १०/१० लाखका दरले बजेट समेत पठायो। तर गत स्थानीय तहको चुनावपछिको नेतृत्व सम्हालेका नगरप्रमुखले पटकपटकको आग्रहलाई बेवास्ता गर्दै आउनुभएको छ।’
विगत १० महिनादेखि केन्द्रको आर्थिक अवस्थाबारे जानकारी गराएर बजेट पठाइदिन अनुनय गर्दै आए पनि सुनुवाइ नभएको राउत बताउँछन्। उनी भन्छन्, ‘१० महिनादेखि हामीले बिजुलीको बिल तिर्न सकेका छैनौँ। जनशक्तिलाई गत ६ महिनादेखि तलब खुवाउन सकेका छैनौँ।’ केन्द्रमा दुई जना जनशक्ति कार्यरत छन्।
‘सरसफाइ कर्मचारीको समेत ३ महिनादेखि तलब दिन सकेका छैनौँ,’ राउतले भने, ‘हामीले मेयरसाबलाई अस्पतालको अवस्थाबारे त जानकारी गरायौँ। तर उहाँले कुनै जबाफ दिनुभएन।’
क्षिरेश्वर नगरपालिका प्रमुख सुखदेव यादवले भने प्रशासकीय अधिकृत नहुँदा बजेट निकासा गर्न नपाएकाले उक्त समस्या आएको प्रतिक्रिया दिए। अस्पतालमा आफूखुसी कर्मचारी राख्ने प्रवृत्ति बढेकाले नगरपालिकाले चासो नराखेको उनी बताउँछन्।
‘नगरपालिकामा करिब दुई महिनादेखि प्रशासकीय अधिकृत छैनन्। सोही कारण उपचार सेवा केन्द्रका कर्मचारीको तलब रोकिएको हो,’ नगरप्रमुख यादवले भने, ‘केन्द्रका कर्मचारीको तलब दुई महिनाको मात्रै बाँकी छ।’
प्रमुख यादव आर्थिक अभावका कारण सर्पको डसाइबाट बच्न जनचेतनामूलक कार्यक्रम गर्न नसकिएको बताउँछन्।
यस्तै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामले एन्टी स्नेक भेनम र सहायक औषधि दिन बन्द गरेको अध्यक्ष राउत बताउँछन्। एक साता पहिले औषधि पठाइदिन पत्राचार गरे पनि उपलब्ध नभएको उनको भनाइ छ।
सामाजिक विकासमन्त्री सुरिता साहको निर्देशनअनुसार औषधि नपठाइएको मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
यस्तै सेवा केन्द्रका सञ्चालक राउत पनि मन्त्रीले नै औषधि वितरणमा अवरोध गरेको गुनासो गर्छन्। उनी भन्छन्, ‘सामाजिक विकासमन्त्रीज्यूले नै सरकारी निकायबाहेक अन्य कुनै स्थानमा औषधि वितरण नगर्न भन्नुभएको हो।’ सर्पदंशका बिरामीको चाप बढ्दै गएकाले अन्य पसलबाट औषधि किनेर व्यवस्थापन गरिएको राउत बताउँछन्।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामका निर्देशक राजीवकुमार झाले भने १० दिन अगाडि मात्रै केन्द्रलाई औषधि पठाएको दाबी गरे। ‘हामीले सिरहा र धनुषामा रहेको सर्पदंश केन्द्रलाई औषधि प्रदान गर्दै आएका छौँ,’ निर्देशक झाले भने, ‘यो कार्य नियमित जारी छ।’