सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

हिमाल प्रेस १ वैशाख २०८० ८:२२
4
SHARES
सुदूरपश्चिममा आज ‘बिसु’ पर्व मनाइँदै

बैतडी- सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धूमधामका साथ मनाइँदैछ। यहाँ नयाँ वर्षको पहिलो दिनलाई धूमधामका साथ बिस पर्वका रूपमा मनाउने चलन छ।

हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने प्रचलन रहिआएको छ।

यसका साथै देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एकापसमा सिस्नु पानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजु, भाउजु नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैँले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।

बिसुका दिन सिस्नो लगाउँदा वर्षभरि शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ। शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको जयानन्द भट्टले बताए। र पछिल्लो समय भने बिसुपर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको छ।

पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ। सुदूरपश्चिमको महत्त्वपूर्ण पर्वका रूपमा रहेको बिसु आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने(स्थानीय भाषामा घर छिप्ने) गरिन्छ। विशेषगरी घर छिप्ने कार्यमा महिला सक्रिय हुन्छन्।

नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्षभरि नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रही आएको छ। वैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन रहेको छ।

बिसुकै लागि भनेर रोजगारीका लागि देश बाहिर रहेका पनि घर फर्किने गरेका छन् । बिसु पर्व घरपरिवारका सबै सदस्य एकै ठाउँमा बसेर मनाउनका लागि भनेर भारतबाट घर फर्किएको दोगडाकेदार–३ का स्थानीय महेश नाथले बताए।

सुदूर पहाडका अधिकांश सर्वसाधारण मजदुरीका लागि भारतका विभिन्न सहरमा जाने गरेका छन् । छोटो तथा लामो समयका लागि परदेशिएका स्थानीय चाडपर्वका लागि घर फर्कने गरेका छन्।

अधिकांश स्थानीय खेतीपातीमा लाग्ने भएकाले दुई–चार महिनाका लागि कामको खोजीमा भारत पस्ने गरेका छन् । यहाँका स्थानीय गहुँ लगाएर तीन महिनादेखि छ महिनासम्म मजदुरीका लागि भारतीय सहरमा गएर पैसाको जोहो गर्छन्।

प्रकाशित: १ वैशाख २०८० ८:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast