आर्थिक रूपमा कमजोर श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने

हिमाल प्रेस २९ चैत २०७९ २१:५९
6
SHARES
आर्थिक रूपमा कमजोर श्रीलंकाले चीनलाई एक लाख बाँदर बेच्ने

न्युयोर्क- आर्थिक रूपमा कमजोर बनेको श्रीलंकाले चीनलाई एक लाख लोपोन्मुख बाँदर बेच्ने तयारी गरेको छ। श्रीलंकाका कृषिमन्त्री महिन्दा अमरवीराले चीनलाई बाँदर बेच्ने तयारी भइरहेको बुधबार बताएका हुन्।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलंकामा प्रशस्त पाइने बाँदर हो। तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)ले संकटापन्न वन्यजन्तुमा वर्गीकरण गरेको छ। श्रीलंकाले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ।

देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको स्थितिमा श्रीलंकाले बाँदर बिक्रीबाट अर्थतन्त्रमा योगदान पुग्ने बताएको छ। बिक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्यमा बेच्ने खुलाइएको छैन।

कृषिमन्त्री अमरवीराले एएफपीसँग भने, ‘उनीहरूले चीनमा रहेका एक हजारभन्दा बढी चिडियाखानाका लागि बाँदर चाहेका छन्।’ यसबारेमा अध्ययन गर्न एक समिति गठन गरिएको उनको भनाइ छ। बाँदरले कृषिबालीलाई क्षति पुर्‍याउने र यिनिहरूको संख्या अत्यधिक भएका कारण श्रीलंकामा बाँदरलाई कृषकको शत्रुका रूपमा लिइन्छ। श्रीलंकाले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जंगली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ।

श्रीलंकाको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर (मकाक) को राष्ट्रव्यापी सर्वेक्षण नभएकाले सर्वेक्षण गर्न माग गरेको छ।

फाउन्डेसनका प्रतिनिधि जगत गुणवर्धनाले कोलम्बोमा पत्रकारहरूसँग भने, ‘मासु, चिकित्सा अनुसन्धान वा अन्य कुनै उद्देश्यका लागि वा अन्य कुनै कारण उनीहरू (चिनियाँ) किन यति धेरै बाँदर चाहन्छन् भन्ने हाम्रो जिज्ञासा रहेको छ।’

श्रीलंका सरकारको तथ्यांकअनुसार ‘टोक मकाक’को संख्या २० लाखदेखि ३० लाख रहेको छ। रासस/एएफपी

प्रकाशित: २९ चैत २०७९ २१:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =