बेदकोट- पच्चीस वर्षअघि भारत गएका बझाङको दुर्गाथली गाउँपालिका–७ मोरगाउँका धर्मराज मोर हरियाणामा काम गथ्र्ये। सुरुवात मजदूरको रूपमा काम गरेका उनले केही वर्षपछि चिया, नास्ता र खानाको होटल चलाएका थिए। धर्मराजसँगै उनको परिवारका सदस्य पनि होटलमै काम गर्थे।
आफूले कमाएको र ऋणदान गरेर छोराको बिहे खर्च जोहो गरेर उनी केही दिनअघि हरियाणाबाट घर फर्किएका छन्। तर सँगै ल्याएको दुई लाख रुपैयाँभन्दा बढी रकम पश्चिमी सीमा नाका गड्डाचौकीमा पारीपट्टि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लियो।
भारतबाट कति रकम ल्याउन पाइन्छ भन्ने जानकारी नहुँदा बेखर्ची घर पुगेको धर्मराज बताउँछन्। ‘छोराको बिहे गर्न वर्षौँको कमाइ र ऋणदान गरेर ल्याएको रकम बाटोमै खोसियो,’ उनले भने, ‘भारतबाट कति रकम ल्याउन पाइन्छ भन्ने जानकारी भएन।’
कति रकम साथमा ल्याउन पाइन्छ भन्ने कुरा थाहा पाएको भए सबैले २०–२५ हजार गरेर राख्ने र एसएसबीले नियन्त्रणमा नलिन पनि सक्ने उनको भनाइ छ।
तर पहिले पनि आउँथे साथै पैसा बोकेर आउने उनले पछिल्लो समय फेरिएको प्रावधानबारे थाहा पाएनन्। ‘यसपटक कमाइ सबै एसएसबीले राख्यो,’ उनले भने। पछिल्लो समय भारतबाट २५ हजारभन्दा बढी रकम बोकेर नेपाल ल्याउन प्रतिबन्ध छ।
यसबारे जानकार नहुनु र भारतबाट फर्किदा गाउँभरका अन्यको पनि रकम ल्याएर आउँदा तोकिएकोभन्दा बढी रकम हुन पुग्यो। सोही कारण उनले दुख पाएको सुनाए।
पछिल्लो समय २५ हजार भारतीय रुपैयाँभन्दा बढी रकम साथमा राख्नका नपाइने प्रावधन छ। तर, भारतबाट नेपाल फर्किने नेपालीले थाहा नपाउँद समस्या झेलिरहेका छन्।
भारतीय सुरक्षा बलले केही दिनयता विभिन्न चरणमा गरेर नेपालीहरूबाट १३ लाख भारतीय रुपैयाँ नियन्त्रणमा लिएको छ।
भारतमा खाता खोल्न नपाउने तथा बैंकिङ प्रणालीबाट रकम पठाउन नसक्ने भएका कारण साथमै बोकेर आउनुपर्ने बाध्यता रहेको धर्मराजले बताए। ‘भारतीय बैंकमा खाता खोल्न आधार कार्ड अनिवार्य छ। हामीसँग नहुँदा खाता खोल्न पाइँदैन,’ उनले भने।
कामको खोजीमा भारत जानेलाई वित्तीय साक्षरता नहुँदा नेपाली कामदारले समस्या झेल्नुपरेको नेपाल–भारत श्रमिक आप्रवासनमा विद्यावारिधि गरेका सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक डा. दीपकचन्द्र भट्टले बताए। ‘भारतमा मजदुरी गर्न जाने पढेलेखेका हुँदैनन्,’ उनले भने, ‘केही मात्रै साक्षर हुन्छन्। कति रकम लैजान पाइन्छ वा बैंकबाट कसरी पठाउन सकिन्छ भन्ने जानकारी नभएर समस्या हुने गरेको छ।’
अधिकांश कामदारले वर्षभरको कमाइसँगै बोकेर आउने गरेको उनले बताए। सरकारले भारतको रोजगारीलाई अझै पनि वैदेशिक रोजगारी मानेको छैन। यही कारण भारतको रोजगारी व्यवस्थित हुन नसकेको उनको भनाइ छ। मजदुरी गर्न भारत जानेलाई वित्तीय साक्षरता आवश्यक रहेको उनले औँल्याए। रासस