ललितपुर- संघीय सरकारलाई राजस्व संकलन गर्न कठिनाइ भइरहेका बेला ललितपुरको गोदावरी नगरपालिकाले भने अनुमान गरेअनुसारको राजस्व संकलन गर्ने भएको छ। चालु आर्थिक वर्षका लागि गोदावरी नगरपालिकाले २५ करोड राजस्व संकल हुने प्रक्षेपण गरेको छ।
गोदावरी नगरपालिकले मंगलबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले हालसम्म १३ करोड ८७ लाख, ७१ हजार, सात सय ८८ राजस्व संकलन भइसकेको बताए।
नक्सापास दस्तुरअनुसार १ करोड १५ लाख ६५ हजार ६ सय ४२, सिफारिस दस्तुर दुई करोड ७८ लाख ३४ हजार ६ सय ५३ , व्यक्तिगत घटना दर्ता दस्तुर पाँच लाख १० हजार ७५, अन्य दस्तुर एक करोड, ८४ लाख १४ हजार, एक सय ६८ प्रशासनिक जरिवाना र जफत २० लाख ८० हजार चार सय, अन्तशुल्क ६ हजार पाँच सय, अन्य राजस्व ६२ हजार संकलन भएको छ।
उनले असार मसान्तसम्म बाँकी नौ करोडभन्दा बढी राजस्व संकलन हुने दाबी गरे। उनले भने, ‘चालु आर्थिक वर्षमा अनुमान गरेभन्दा १० करोड बढी राजस्व संकलन हुन्छ।’