काठमाडौँ- नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएवापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार उनलाई दोसल्ला ओढाइ नगदसहित सम्मान गरेको हो। पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ।
समारोहमा केन्द्रको वार्षिक प्रकाशन ‘ज्ञानविन्दु’समेत लोकार्पण गरिएको थियो। कार्यक्रममा कोषका संस्थापक, एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष एवम कवि हरिहर अर्यालले विगतका वर्षमा पुरस्कृत व्यक्तित्वका बारेमा तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालले २०७९ सालमा पुरस्कृत प्रतिभा प्रभातको जीवनी, व्यक्तित्व र कृतिबारे प्रकाश पारेका थिए।
ज्ञानबिन्दुबारे सम्पादकीय मन्तव्य केन्द्रका सदस्य तिलकप्रसाद लुइँटेलले राख्नुभएको थियो भने सभामा प्रा शिवहरि मरहठ्ठा, प्रा डा सुरेन्द्र केसी, सीमाविद् बुद्धिनारायण श्रेष्ठ र ईश्वरचन्द्र देवकोटाले शुभकामना मन्तव्य राखेका थिए।
यसअघि उक्त पुरस्कारबाट ज्ञानमणि नेपाल, मदनमणि दीक्षित, प्रा डा तुलसीराम वैद्य, प्रा दिनेशराज पन्त, सत्यमोहन जोशी, प्रा डा सुरेशराज शर्मा, प्रा डा सुरेन्द्र केसी, पुण्यरश्मी खतिवडालगायत पुरस्कृत भइसक्नुभएको केन्द्रले जनाएको छ।
स्व दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिष, धर्मशास्त्र, समाजशास्त्रलगायत विषयका ज्ञाता हुन्। दण्डपाणि र उनकी धर्मपत्नी नन्दकुमारीको नाममा उक्त पुरस्कार स्थापना गरिएको हो।