नयाँ र गुणात्मक परियोजना अगाडि बढाइने प्रधानमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस २७ चैत २०७९ १३:०२
8
SHARES
नयाँ र गुणात्मक परियोजना अगाडि बढाइने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारणसभालाई सोमबार बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले परम्परागत सोचबाट माथि उठेर विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, विगतभन्दा गुणात्मक केही नीति, कार्यक्रम र योजना अगाडि बढाउने गृहकार्य भइरहेको जानकारी दिएका हुन्।

प्रधानमन्त्रीले भने, ‘नेपाल सरकार आर्थिक वर्ष २०८०।०८१ को नीति कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा छ। परम्परागत सोच, नीति, कार्यक्रम र बजेटबाट मुलुकको समृद्धि सम्भव छैन भन्नेमा सरकार स्पष्ट छ।’ उनले यसपटक विगतभन्दा भिन्न, विगतभन्दा नयाँ, गुणात्मक केही नीति, कार्यक्रम र योजना अगाडि बढाउने गृहकार्य भइरहेको जानकारी दिए।

नेपाल सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ केन्द्रित रहेको उनले बताए। प्रधानमन्त्रीले भने, ‘यसका लागि सरकार र निजी क्षेत्र दुबैबाट हुने लगानीलाई वृद्धि गर्नुपर्ने साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता छ।’

हालसम्म अगाडि बढाएका प्रयासबाट सामाजिक-आर्थिक क्षेत्र केही प्रगति हासिल दाबी गर्दै प्रधानमन्त्रीले भने, ‘बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ। शिक्षाको पहुँचमा महत्त्वपूर्ण प्रगति भएको छ। आधारभूत तहमा खुद भर्नादर ९५ प्रतिशत पुगेको छ। समग्र स्वास्थ्य सुविधामा जनताको पहुँचमा वृद्धि भएको छ।’ यस्तै उनले लैंगिक सशक्तीकरणमा उल्लेख्य सुधार भएको, आधारभूत खानेपानी सुविधामा ९५ प्रतिशत जनसंख्याको पहुँच पुगेको, विद्युत् विकासमा प्रगति उत्साहजनक रहेको र सडक घनत्वमा सुधार भइरहेको बताए।

पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्ने जस्ता विषयमा अझै बढी ध्यान पु¥याउन जरुरी रहेको दाहालले बताए। उनले भने, ‘उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ। फलस्वरूप पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुमात्र नभई मुलुकभित्रै उत्पादन हुनसक्ने कृषिजन्य वस्तु पनि वर्षेनी खर्बौंको आयात गरिरहेका छौँ।’

प्रकाशित: २७ चैत २०७९ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =