काठमाडौँ- देशको पर्यटन विकासका लागि सरकार, निजीक्षेत्र र नागरिक स्तरबाट एकिकृत प्रयास आवश्यक रहेको पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले जोड दिएका छन्।
बदलिँदो परिवेश र मागअनुसार पर्यटनका लागि नयाँ सोच समेत आवश्यक सरोकारवालाले बताएका हुन्। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय सुधार तथा अन्य देशको नेपालसँगको कनेक्टिभिटी बढाउनु पर्नेमा उनीहरूको जोड छ। नेपाल पर्यटन बोर्डले काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय समृद्धिमा पर्यटनको भूमिका’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागीले पर्यटनका लागि कसैको एकल प्रयासभन्दा पनि सरकार र निजीक्षेत्रबीच प्रभावकारी समन्वय हुनुपर्ने बताए।
मुलुकको पर्यटन क्षेत्रको विकासका लागि बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने रणनीतिक कार्ययोजनाका साथ अघि बढ्नुपर्ने उनले बताए। पर्यटन विकासका लागि सरकार र निजीक्षेत्रको समन्वय र सहकार्य आवश्यक छ,’ उनले भने, ‘सबै मिलेर जाऔँ, छिन्नभिन्न भएरभन्दा पनि समन्वयका साथ काम गर्न सकेमा परिणाम निस्कन्छ।’
सरकार पनि नीतिगत सुधारका लागि प्रयासरत रहेको उनको भनाइ थियो। पर्यटन क्षेत्रको विकासका लागि आगामी नीति तथा तथा कार्यक्रममा थप सुधार हुने उनले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले वायुसेवा निगमको व्यवस्थापकीय सुधार गरी अन्तर्राष्ट्रिय गन्तव्य बजार विस्तारका लागि प्रक्रिया अघि बढेको बताए।
अन्तर्राष्ट्रिय पर्यटन आकर्षणका लागि प्रभावकारी कार्ययोजनाका साथ अघि बढ्न आवश्यक रहेको उनले बताए। कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले बोर्डले गरिरहेका कार्यबारे प्रस्तुतीकरण दिँदै पर्यटन क्षेत्रको विकासका लागि विदेशी पर्यटकलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय बजार रणनीति आवश्यक रहेको बताए।
पर्यटन क्षेत्रका अगुवा संगठनका प्रमुख एवं प्रतिनिधिले पर्यटनमा नीतिगत सुधारको आवश्यक्ता रहको औंल्याए।