काठमाडौँ- मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच पार्टी एकता घोषणा गरिएको छ। शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका शीर्ष नेताहरूले पार्टी एकताको घोषणा गरेका हुन्। आगामी ‘मे’ दिवसका अवसरमा पार्टीको नयाँ नाम र दृष्टिकोण सार्वजनिक गर्ने दुई पार्टीले बताएका छन्।
पत्रकार सम्मेलनमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव वैद्यले नेपालको सामाजिक क्रान्तिका साथै जनताका ज्वलन्त समस्या समाधान र सामन्तवादका अवेशषहरू अन्त्य गर्न अघि बढ्ने बताए। उहाँले अन्य कम्युनिष्ट घटकहरूलाई पनि एक ठाँउमा ल्याउन छलफल भइरहेको बताए।
त्यस्तै नेकपा बहुमतका संयोजक बास्तोलाले देशको समस्या सामाधानका लागि एकताबद्ध भएर अघि बढ्ने बताए। आगामी ‘मे’ दिवसको दिन पार्टीको नाम घोषणा हुने उनले बताए। नयाँ जनवाद आधारभूत कार्यक्रमका साथ पार्टी अघि बढ्ने बास्तोलाले बताए। परिवर्तनका लागि क्रान्ति गर्न अब अघि बढ्ने उनको भनाइ थियो। विगतमा भएका फुट र त्यसपछिको एकताका विषयमा गहन ढंगले छलफल भइरहेको पनि बास्तोलाले बताए।