काठमाडौँ- एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा बैठकमा हरेक दिन एक जना मन्त्री उपस्थित भएर जबाफ दिन माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै पाण्डेले संसद्को चालु अधिवेशनमा सांसदहरूले जनजीविकाका विभिन्न पक्षमा आवाज उठाए पनि सरकारले नसुनेको बताए।
उनले पुस २५ गतेदेखि शुक्रबारसम्म प्रतिनिधिसभाका १९ वटा बैठक सांसदहरूले शून्य, विशेष, आकस्मिक समयमा थुप्रै विषय उठाएको पनि सरकारले कुनै विषय सम्बोधन नगरेको बताए।
उनले भने, ‘हामीले उठाएको विषय सरकारले सुनिरहेको छ कि छैन? हामीलाई नै थाहा छैन। मन्त्रीले रोस्ट्रमबाट उत्तर दिएपछि मात्रै हामीले उठाएको कुरा सरकारलाई थाहा रहेछ भन्ने जानकारी हुने भयो।’
सांसद पाण्डेले १९ वटा बैठक हुँदा पनि सरकारको ध्यानाकर्षण गराउन नसकेको हो कि भनेर सांसदहरूसँग नै प्रश्न राखे। पाण्डेले भने, ‘संसद् जनताको समस्या पोख्ने थलो हो। हामी पोख्छौँ। तर सरकार मुकदर्शक भएर बस्यो भने आमजनताबीचमा संसद्प्रति कस्तो धारणा बन्ला?’
उनले अब हरेक दिन एक जना मन्त्री आएर सम्बन्धित मन्त्रालयका बारेमा उठेका प्रश्नको जबाफ दिने परिस्थिति बनाउन माग गरे।