काठमाडौँ- कोशी प्रदेशको नामकरणविरुद्धको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ)लाई सहिद घोषणा गरिएको छ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्दै उनको परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय भएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए।
गत चैत ५ मा विराटनगरमा आन्दोलन गर्दा लिम्बू घाइते भएका थिए। आन्दोलनमा घाइते उनको चैत १० गते उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो।
यसअघि लिम्बूको परिवारलाई प्रदेश सरकारले ३ लाख रूपैयाँ दिने घोषणा गरेको थियो। यस्तै सो घटनाको छानबिन गर्न समित समेत बनेको छ।
फागुन १७ गते प्रदेश १ को नाम कोशी राखिएपछि पहिचान पक्षधरहरू आन्दोलित हुँदै आएका छन्।
प्रकाशित: २४ चैत २०७९ १०:२३
प्रतिक्रिया