नेम्वाङको प्रश्‍न- सरकारको न्यूनतम कार्यक्रम सदन बाहिर किन?

हिमाल प्रेस २३ चैत २०७९ २१:३१
4
SHARES
नेम्वाङको प्रश्‍न- सरकारको न्यूनतम कार्यक्रम सदन बाहिर किन? सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको साझा न्यूनतम कार्यक्रम संसद् अधिवेशन चालु रहेका बेला सदनबाहिर प्रस्तुत गर्ने कार्यले गम्भीर प्रश्न खडा गरेको बताएको छ।

पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलगायत सरकार संसद्प्रति उत्तरदायी बन्ने सुन्दर लोकतान्त्रिक पक्षलाई बेवास्ता गर्दै सदन चलिरहेकै समयमा सदनबाहिर त्यस्ता कार्यक्रम प्रस्तुत गरिनु गम्भीर चिन्ताको विषय भएको टिप्पणी गरे।

‘सरकारले के गर्‍यो भन्नेबारे प्रतिनिधिमूलक संस्था संसद्ले थाहा पाउनुपर्छ, सदन चलिरहेको छ, सरकारले बिजनेश दिन सकेको छैन, संसद्लाई बेवास्ता गरिएको छ, साझा कार्यक्रम संसद्ले थाहा पाउन पर्ने होइन ? यस विषयमा सरकार चुकेको छ,’ उनले भने।

सरकारले न्यूनमत साझा कार्यक्रम प्रस्तुत गरेको विषय सञ्चार माध्यमबाट थाहा पाएको बताउँदै उपनेता नेम्वाङले ०६२/६३ को आन्दोलनपछि जनताले जनताका लागि पूर्णअधिकार सम्पन्न तुल्याउन भइरहेको संसदीय अभ्यासलाई छलेर गरिने यस्ता कार्यले लोकतन्त्रलाई बलियो तुल्याउन नसक्ने जनाए।

‘सरकारले सदनको अबको पहिलो बैठकमै सदन बाहिर साझा कार्यक्रम प्रस्तुत गर्नु पर्नाको कारण र औचित्यबारे जानकारी गराउनुपर्छ, हामी त्यो माग गर्छौं,’ उनले भने।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन्।

सो अवसरमा प्रधानमन्त्री दाहालले सरकारमा रहेका पूर्ववर्ती दल र अन्यको धारणा समेटिएकाले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रमलाई राष्ट्रिय सहमतिको दस्तावेज रहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =