काठमाडौँ- सामुदायिक क्याम्पसका लागि राज्यले लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। शिक्षा पत्रकार समाजले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले सामुदायिक क्याम्पसकाे पूर्वाधार विकासमा राज्यले जोड दिनुपर्ने बताएका हुन्।
नेपाल सामुदायिक क्याम्पस संघ गण्डकी प्रदेश संयोजक एवं तनहुँको आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हडखलेले उच्चशिक्षा क्षेत्रमा विद्यार्थीको विदेश पलायन र क्याम्पस छाड्ने दर कम गर्न सरकारले सामुदायिक क्याम्समा लगानि बढाउनुपर्ने बताए।
उनले उच्च शिक्षाको एक तिहाइ हिस्सा ओगट्ने सामुदायिक क्याम्पसको शैक्षिक गुणस्तरमा वृद्धि गर्न सरकारले शैक्षिक पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।
प्राविधिक एवं बजारको मागअनुसारका उच्च शिक्षाका कार्यक्रम सञ्चालनको अवसर प्रदान गर्ने गरी सम्बन्धनको नीति ल्याउन सुझाव दिँदै उनले प्राविधिक विषयको सम्बन्धन निजी कलेजलाई मात्रै दिइँदा शिक्षामा व्यापारीकरण बढेको गुनासो गरे।
हाल मुलुकमा उच्च शिक्षा प्रदान गर्ने एक हजार चार सय ४० शिक्षण संस्था रहेकामा एक सय ५० आंगिक, पाँच सय ३७ सामुदायिक र सात सय ५३ निजी रहेका छन्। त्रिभुवन विश्वविद्यालयमा मात्रै १ हजार १४४ क्याम्पस छन् भने तीमध्ये ६१ आंगिक, ५२८ सामुदायिक र ५२४ निजी क्याम्पस छन्।
मदन भण्डारी मेमोरियल कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. रघु मैनालीले उच्च शिक्षालाई अध्ययन, अनुसन्धान, तथ्य र तर्कमा केन्द्रित गरी विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि राजनीतिक नेतृत्वले शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए।
विश्वविद्यालय अनुदान आयोगले दिएको शिक्षा तर्फ देशभर ४ लाख ६० हजार ८२६ जना विद्यार्थी अध्यनरत रहेकोमा त्रिविका १ हजार १४४ क्याम्पसहरूमा ३ लाख ४७ हजार २६९ जना (७५%) विद्यार्थी अध्यनरत छन्।
जसमध्ये त्रिविका ६२ आंगिक क्याम्पसहरूमा १ लाख २० हजार १५८ जना (३४%), ५२८ सामुदायिक क्याम्पसहरू (३४%) मा १ लाख ३३ हजार ३६२ जना (३८%) र ५५४ निजी क्याम्पसहरूमा ९३ हजार ७४९ जना (३७%) विद्यार्थीहरू अध्यनरत छन्। त्रिविका ५३७ सामुदायिक क्याम्पसहरूले उच्च शिक्षाको ३७ प्रतिशत भार ओगटेको छ।
संघको आसन्न १५औँ राष्ट्रिय महाधिवेशन यही चैत २४ र २५ गते काठमाडौँको कीर्तिपुरमा आयोजना हुँदैछ।