‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’

हिमाल प्रेस २१ चैत २०७९ २०:२५
22
SHARES
‘बिग्रँदो अर्थतन्त्रबारे राजनीतिक नेतृत्व गम्भीर भएन’ c

काठमाडौँ- पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको आरोप सरोकारवालाले लगाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः संकट, चुनौती र सामाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा उपस्थित अर्थविद् तथा निजीक्षेत्रका प्रतिनिधिले उक्त आरोप लगाएका हुन्।
राप्रपा नेपालका अध्यक्ष कमल थापा, काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं प्राध्यापक डा. अच्युत वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको बताएका हुन्।
बिग्रिँदो अवस्थाको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रबाट सामूहिक पहल हुन आवश्यक रहेको उनीहरूको भनाइ थियो। राप्रपा नेपालका अध्यक्ष थापाले देशको आर्थिक अवस्था अहिले अत्यन्तै जटिल र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको बताए।
काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार एवं प्राध्यापक डा. अच्युत वाग्लेले राजनीतिक वृत्तमा आर्थिक विषयप्रतिको चासो घट्दै गएको र अर्थतन्त्रको संकटग्रस्त अवस्थाबारे कुनै पनि दलले गम्भीर भएर नसोचेको बताए। अहिले शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चिती सुधारको अवस्थामा देखिए पनि सबैजसो क्षेत्र समस्यामा रहेको उनको भनाइ थियो।
मुलुकको आन्तरिक उत्पादन बढ्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको वाग्लेले बताए। त्यस्तै, वैदेशिक विकास सहायतामा अनुदानको अंश घट्दै जानु र ऋणको अंश बढ्दै जानु पनि समस्या रहेको पनि उनले औंल्याए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या निजी क्षेत्रको मात्र नभई देशकै भएको बताए। त्यस्तै नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका रूपमा उपलब्ध गराएको एक खर्ब रकमको उचित व्यवस्थापन नभएको पनि गोल्छाको भनाइ थियो।

प्रकाशित: २१ चैत २०७९ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 8 =