करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड वितरण गर्न माग

हिमाल प्रेस २१ चैत २०७९ १७:३५
4
SHARES
करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड वितरण गर्न माग

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले करको दायरा बढाउने सम्बन्धमा नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई सुझाव दिएको छ। चेम्बरले अर्थमन्त्री महतलाई करको दायरा बढाइ राजस्व संकलनको लक्ष्य पूरा गर्न नागरिकतासँगै प्यानकार्ड उपलब्ध गराउन सुझाव दिएको हो।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री डा. महतसँग मंगलबार भेटवार्ता गर्दै उक्त सुझाव दिएको हो। ‘करको दर वृद्धि गर्नुभन्दा करको दायरा बढाइनुपर्छ,’ चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसका लागि नागरिकतासँगै प्यानकार्डको पनि व्यवस्था गर्नुपर्छ।’

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापार पनि नियन्त्रण गरी करको दायरामा ल्याउनुपर्ने बताए। बिल लिने÷दिने व्यवस्था अनिवार्य कार्यान्व्यनमा ल्याउनुपर्ने अध्यक्ष मल्लको माग छ।

सो क्रममा अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीर रूपमा लिएको बताए। बजेट र मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि समन्वय भइरहेको उनको भनाइ थियो। ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन,’ उनले भने, ‘यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारीलगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु।’

लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरूसँग आफूले जानकारी लिइरहेको डा. महतको भनाइ छ। आगामी आर्थिक वर्षबाट अर्थतन्त्रले लय समाउने उनले बताए। नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयसँग सम्बन्धित १७ बँुदे सुझाव समेत पेस गरेको छ।

प्रकाशित: २१ चैत २०७९ १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =