काठमाडौँ- चितवन-२ को उपनिर्वाचनमा उम्मेदवारी दिएका रवि लामिछानेविरुद्ध उजुरी परेको छ। युवराज सफलले लामिछाने उम्मेदवार बन्न अयोग्य रहेको भन्दै चितवन २ को प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
उनले संविधानमा विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्ति कम्तीमा तीन महिनासम्म निर्वाचित हुन रोक लगाएको भन्दै लामिछाने अयोग्य भएको दाबी गरेका छन्। उजुरीमा लामिछानेले २०७९ माघ १५ गतेमात्रै नेपाली नागरिकता पुनःप्राप्त गरेकाले निर्वाचनको दिनसम्म तीन महिना नपुग्ने हुँदा उम्मेदवारी बदर गर्नुपर्ने माग गरिएको छ।
यस्तै लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा आज पेसी तोकिएको छ। चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए।