काठमाडौँ– तनहुँ-१ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले मनोनयन दर्ता गराएका छन्। वैशाख १० मा हुने उपनिर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि पाँच बजेसम्मको लागि मनोनयनको कार्यतालिका तोकिएको छ। सोहीअनुसार मुख्यनिर्वाचन अधिकृतको कार्यालय पुगेर खनालले मनोनयन दर्ता गरेका हुन्।
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना छन्। मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले पनि मनोनयन दर्ता गरिसकेका छन्। उनको प्रस्तावकमा मन्धरी आले र समर्थकमा मिना थापा छन्।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा र राप्रपाकी शोभा गुरुङले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन्। कांग्रेस र रास्वपाका उम्मेदवारको भने मनोनयन भइसकेको छैन।