काठमाडौँ- नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवन-२ मा वैशाख १०मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका छन्। उनले मनोनयनको समयमा रास्वपाका सभापति लामिछानेलाई सहयोग गर्ने घोषणा गरेका हुन्।
‘रविजीलाई उपनिर्वाचनमा समर्थन गरेका छौँ। अब हामी हाम्रो समूह चुनावमा खटिन्छौँ,’ उनले भने, ‘मैले कांग्रेसमा मेरो जवानी र लामो समय गुमाएँ। मेरो क्षमता, योग्यतालाई पार्टीले अपमान गर्यो, मलाई कारवाही गर्यो, मेरो विगतका सबै योगदान शून्यको स्थितिमा पुर्यायो, मलाई थन्क्यायो। अब परिवर्तनका लागि मेरो शक्ति, क्षमता र खाँचो रास्वपाले देख्यो, उहाँहरुले मेरो आवश्यक रहेको बताउनुभयो।’
उनले अब राजनीतिक भूमिकामा रास्वपाबाट रहने संकेत पनि गरे। नेपाली कांग्रेसले भरतपुर महानगरको निर्वाचनमा टिकट नदिएपछि उनले असन्तुष्ट व्यक्त गर्दै तत्कालीन सत्तागठबन्धनविरुद्ध बागी उम्मेदवार बनेका थिए। त्यसबेला उनी पराजित भए। त्यस्तै मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। यसमा पनि उनी पराजित भए।
सो क्षेत्रबाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता प्रकरणले पद गुमाएपछि उपनिर्वाचन हुन लागेको हो।