काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले पार्टीको कारबाही फुकुवा आफू मान्न तयार नभएको बताएका छन्। आज आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले जोशीलगायतको कारबाही फुकुवाको निर्णय गरेको थियो।
चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन पनि उनले आफ्ना समर्थकहरूलाई अपिल गरेका छन्।
‘१० औँ हजार कार्यकर्ताको मतलाई बेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो, यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ,’ सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै भने, ‘सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टीमा सैद्धान्तिक विचलन ल्याउनेहरूबाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।’
कांग्रेसले आफू र आफूसँग सम्बन्धित मान्छेसँग कुनै सल्लाह नगरी एकलौटी रूपमा गरेको निर्णयलाई मान्न तयार नरहेको उनको भनाइ छ। उनले भने, ‘चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट विचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु। म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
वर्षौँदेखि कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय आफू र परिवारले वर्षौँदेखि भोग्दै आएको उनको गुनासो छ ।
यस्तो छ उनको ध्यानाकर्षण पत्र
वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ। विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरुलाई जान्छ।
१० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो। यसप्रति मेरो घोर आपत्ति छ। यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरी वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु।
सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरणसमेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरू बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।
नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु।
म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।
गोविन्द राज जोशी