
काठमाडौँ- एक दशकमा ५० हजार किलोमिटर यात्रा गरिसकेको छ बुक बसले। यो एउटा ‘मोबाइल लाइब्रेरी’ हो। जसलाई कसैले ‘घुम्ती पुस्तकालय’ भन्छन् त कसैले ‘गुड्ने पुस्तकालय’। रातो रङको ठूलो बस हजारौँ किताब बोकेर जब गाउँ-गाउँ पुग्छ ‘यति धेरै किताब!’ भन्दै केटाकेटी हौसिन्छन्। बसको र्याकमा लहरै सजाइएका किताब देख्दा बालबालिका आकर्षित हुन्छन्। चित्र भएका कथाका किताब देख्दा उनीहरूका आँखा चम्किन्छन्। कविताका किताबले उनीहरूको मनै फुरुंग हुन्छ। अनि बच्चाहरू बुक बस वरिपरि झुम्मिन्छन्।
राजधानीबाट लामो यात्रा गरेर विभिन्न गन्तव्यमा पुग्ने बुक बसमा किताबमात्रै होइन, टीभी मनिटर पनि छ। जसमा केटाकेटीलाई अडियो-भिजुअल सुनाइन्छ, देखाइन्छ। पठन संस्कृति विकासका लागि सन् २०१३ मा बुक बसको परिकल्पना गरिएको थियो। नेपालमा अमेरिकी दूतावासकोे बुक बस कार्यक्रमको व्यवस्थापन अहिले सतोरी कला केन्द्रले गरिरहेको छ। ललितपुर, जावलाखेलस्थित यो संस्था शिक्षा, कलासाहित्यमा सक्रिय छ।
बर्सेनि हजारौँ किताब बोकेर बुक बस नेपालका विभिन्न ठाउँ पुग्ने गर्छ। सडक सञ्जाल भएको ठाउँमा जहाँ पनि पुग्छ। अहिलेसम्म नेपालका ३२ जिल्ला पुगिसकेको सतोरी कला केन्द्रकी कार्यक्रम प्रबन्धक साम्भवी श्रेष्ठले बताइन्।
‘पोखरा, जनकपुर, धनगढी, विराटनगर, सुर्खेतलगायत देशका विभिन्न ठाउँमा बस पुगिसकेको छ,’ उनले भनिन्, ‘बुक बस सडक सञ्जाल भएको ठाउँमा जहाँ नि पुग्छ।’ देशका विभिन्न स्कुल, कलेज, समुदायमा पुगेको बुक बसले त्यहाँको खुला चौरमा दुईदेखि पाँच हप्तासम्म बिताउने गरेको छ। एकातिर विद्यार्थी कथा, कविता, उपन्यास तथा ज्ञानविज्ञानका किताबमा रमाउँछन्। अर्कोतिर सतोरीले विद्यार्थी, शिक्षक र समुदायका मानिसका लागि कार्यशाला पनि सञ्चालन गर्छ। ‘६ देखि १८ वर्षसम्मका बालबालिका, किशोरकिशोरीसँगै विद्यालयका शिक्षक र समुदायका मानिसलाई समेटेर विभिन्न कार्यशाला चलाउँछौँ,’ सतोरीकी परियोजना संयोजक रुबिना प्रधानले भनिन्।
कार्यशालामा कथावाचन गरिन्छ, कविता सुनाइन्छ, विज्ञानबारे कुराकानी हुन्छ र समसामयिक विषयमा छलफल पनि हुन्छ। जसमा शिक्षक र विद्यार्थी सहभागी हुन्छन्। ‘कक्षा कोठामा अनुशासित भएर मात्र पढाइ हुँदैन, खुल्ला चौरमा सिर्जनात्मक तरिकाले पनि अध्ययन गर्न सकिन्छ भन्ने हाम्रो मान्यता हो,’ हेड अफ प्रोग्रामिङ युक्ता वज्राचार्यले भनिन्।
शिक्षकहरूसँग शिक्षण सिकाइबारे छलफल गर्दा त्यसबाट सकारात्मक प्रतिक्रिया पाउने गरेको युक्ताको भनाइ छ। ‘विद्यार्थीले भोगेका कुरा, उनीहरूका अनुभव कक्षा कोठासम्म पुर्याउनु हाम्रो उद्देश्य हो,’ युक्ताले भनिन्, ‘घोकन्ते पढाइभन्दा सिर्जनात्मक तरिकाले सिकाइयो भने विद्यार्थीले छिट्टै र राम्ररी सिक्ने गर्छन्। यही कुरालाई दृष्टिगत गरी हामी बुक बसमार्फत पठन संस्कृतिलाई बढावा दिन लागिपरेका छौँ।’
बुक बस हरेक वर्ष देशभरि चारपाँच ठाउँमा पुग्छ। काठमाडौँभित्र बस १५ देखि २० पटक फेरो मार्छ। अहिलेसम्म लगभग दुई हजारजति विद्यालय, कलेज र सामुदायिक केन्द्र बसले भ्रमण गरिसकेको छ। जसबाट समुदायका लाखौँ मानिस लाभान्वित भइसकेका छन्।
नेपालमा अझै पनि पठन संस्कृतिका विकास हुन नसकेको सतोरीकी एड्मिनिस्ट्रेटिभ एसोसिएट रश्मि श्रेष्ठको भनाइ छ। ‘बुक बस जाँदा एकैचोटि धेरै किताब देख्दा बालबालिका खुसी हुनु स्वाभाविक हो,’ उनले सुनाइन्, ‘किनकि अझै पनि कतिपय स्कुलमा पुस्तकालय छैन। यो मामिलामा काठमाडौँका निजी स्कुलको अवस्था ठीकठाक भए पनि सामुदायिक स्कुलमा गाह्रो छ।’
मोफसलका पुस्तकालय दयनीय रहेको उनको अनुभव छ। ‘एउटा सानो कोठामा केही किताब राखिएका हुन्छन्,’ उनले भनिन्, ‘ती पनि पुराना र थोत्रा। जसले बालबालिकालाई आकर्षित गर्दैनन्। त्यसैले बसभरि नयाँ, रंगीचंगी जानकारीमूलक किताब देखेर बच्चा उत्साहित हुन्छन्। नयाँनयाँ कुरा थाहा पाउन चाहन्छन्। विभिन्न चित्र, विज्ञानका कथा पढ्दा केटाकेटीले मनोरञ्जनसँगै जानकारी पनि प्राप्त गर्छन्।’
दुर्गमका बालबालिकालाई पुस्तकालयमा पहुँच भयो भने ‘किताब पढ्नुपर्छ’ भन्ने कुरा संस्कृतिका रूपमा स्थापित हुँदै जाने सतोरीकी परियोजना संयोजक रुबिना प्रधानले बताइन्। ‘ज्ञान-विज्ञानका पुस्तक बालबालिकाको पहुँचसम्म पुर्याउनु नै बुक बसको लक्ष्य हो,’ उनले भनिन्, ‘त्यसमा सफलता पाइरहेका छौँ।’
विभिन्न संघसंस्थासँग सहकार्य गरेर सतोरीले बुक बुस सञ्चालन गर्छ। ‘स्थानीय संघसंस्थाहरूले बोलाउँछन्,’ रुबिनाले भनिन्, ‘कहिलेकाहीँ कलासाहित्यलगायत विभिन्न महोत्सवमा बुक बस लिएर आफैँ पनि जान्छौँ।’
कहाँ जाने, कसरी जाने भन्ने कुरा सतोरी टोलीले वर्षभरिको योजना पहिल्यै बनाइसकेको हुन्छ। ‘योजनामै सीमित हुन्छौँ भन्ने छैन,’ सतोरीकी कार्यक्रम प्रबन्धक साम्भवी श्रेष्ठले भनिन्, ‘समुदायको आवश्यकताअनुसार बुक बस निस्किने गर्छ। काठमाडौँ उपत्यकाभित्रका लागि ‘बुट टुक’ पनि चलाउँछौँ।’