 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            बेइजिङ- चीनले द्वन्द्वग्रस्त सुडानबाट ८ सय जना आफ्ना नागरिकको उद्धार गरेको छ। चीनले नौसेना परिचालन गरेर ८ सय नागरिकको उद्धार गरेको चिनियाँ रक्षा मन्त्रालयले जानकारी दिएको छ।
सोमबार मध्यरातदेखि युद्धविराम लागू भएपछि जनमुक्ति सेना आफ्ना नागरिकको उद्धारमा जुटेको हो। रक्षा मन्त्रालयले परिचालन हुने नौसेनाका जहाज र सैनिकबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
संयुक्त राज्य अमेरिका र साउदी अरबको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएपछि विभिन्न देशले दूतावासका कर्मचारी र नागरिकलाई सुडानबाट सतह, हवाई र समुद्री मार्गबाट उद्धार गरिरहेका छन्।
गत १५ अप्रिलदेखि सुरु भएको युद्धबाट तहसनहस भएको राजधानी खार्तुममा खाद्यान्न, औषधि, पानी र इन्धनको चरम अभाव भएको छ। सन् २०२२ को मध्यसम्ममा एक सय ३० भन्दा बढी चिनियाँ कम्पनीले सुडानमा लगानी गरेकाले त्यहाँ एक हजारको हाराहारीमा चिनियाँ नागरिक रहेका अनुमान गरिएको छ। चीनले सुडानलाई अफ्रिकामा आफ्नो सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएको छ।
युद्धविरामको अवधि समाप्त हुनुअघि नै सुडानबाट कम्तीमा ८ सय चिनियाँ नागरिकलाई समुद्रिमार्गबाट उद्धार गर्ने लक्ष्य रहेको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताएका छन्।
रक्षा मन्त्रालयका प्रवक्ता तान केफेइले पनि सुडानको अवस्था बिग्रदै गएकाले त्यहाँबाट आफ्ना नागरिकलाई यथासक्य चाँडो उद्धार गर्न नौसेना प्रतिबद्ध रहेको बताएका छन्।
चिनियाँ नागरिकको जीवन र सम्पत्ति रक्षार्थ सुडानका निम्ति नौसेना परिचालन गरिएको उनले बताएका छन्। प्रवक्ता तानका अनुसार गत सोमबार नै करिब तीन सय नागरिक सतहमार्ग भएर सुडानबाट बाहिरिएका छन्। सुडानको रक्षा मन्त्रालयका अनुसार १० दिने युद्धमा पाँच सय १२ जनाको ज्यान गएको छ भने चार हजारभन्दा बढी घाइते भएका छन्। रासस/एएफपी

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 