 
                             
                                            काठमाडौँ- द्वन्द्वपीडित संघर्ष समितिले संक्रमणकालीन न्याय (टीआरसी) सँग सम्बन्धित विधेयक संशोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ। संघर्ष समितिले मंगलबार काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको हो। विधेयक प्रतिनिधिसभामा पेस भएको छ।
पीडितहरूले शान्तिपूर्ण रूपमा २७ दिनसम्म आन्दोलन गर्दा पनि कुनै सम्बोधन नभएको भन्दै बाध्य भएर विरोध गर्नुपरेको बताए। द्वन्द्व पीडित परिवार सदस्य शोभा बीसीले टीआरसीसँग सम्बन्धित विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेकाले संशोधनको माग गर्न आन्दोलन गरेको बताइन्।
उनले शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा समेत राज्यले बल प्रयोग गरेको आरोप लगाइन्। बीसीले आन्दोलनमा उत्रिएका द्वन्द्व पीडितमध्ये ८ जनालाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिइन्। उनका अनुसार समिति संयोजक रीता कार्की पनि पक्राउ परेकी छन्।
उनले द्वन्द्वकालमा आफ्ना श्रीमान् किन मारेको? भन्दै सरकारसँग प्रश्न गरेकी छन्। उनले भनिन्, ‘हाम्रा श्रीमान् किन मारिए, हामीले जान्न पाउनुपर्छ।’ बीसीले विधेयक संशोधन गर्न समिति बनाएर छलफल गर्न माग गरेकी छन्। उनले भनिन्, ‘विधेयक जस्ताको तस्तै पारित गरिन्छ भने त्यसको घोर विरोध गर्दछौँ।’
प्रदर्शनमा उत्रिएकाहरुले पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक संशोधन गर्, सरकार मेरो पति खोई? लुटिएको सम्पत्ति फिर्ता गर्, पीडितलाई परिपूरणको ग्यारेन्टी गर्, द्वन्द्वका पीडितलाई कतिन्जेल ढाँट्छौ? घाइते, अपांग र अशक्त पारिएकाहरुको उपचारको ग्यारेन्टी गर् लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए।
 
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 