सफा हिमाल अभियान टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण

हिमाल प्रेस ४ वैशाख २०८० १६:४९ | Monday, April 17, 2023
सफा हिमाल अभियान टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण

काठमाडौँ- ‘सफा हिमाल’ अभियान टोलीबाट अन्नपूर्ण हिमालको सफल आरोहण गरिएको छ। नेपाली सेनाको अगुवाईमा सुरु गरिएको सफा हिमाल अभियान टोलीले सोमबार बिहान अन्नपूर्ण हिमालको आरोहण गरेको हो।

टिम लिडर सहसेनानी भीमबहादुर भुजेल तथा वेसक्याम्प म्यानेजर सेनानी गजेन्द्र देउवाको सहयोग र समन्वयमा सहसेनानी सुमन पाण्डे, प्युठ मानसिंह चौधरी, सिपाही नवराज राना, सिपाही ज्ञानेन्द्र डाँगी, शेर्पा सरदार छिरिङ जाङ्ग्बो शेर्पाले ५ जना शेर्पा सहयोगीसहितले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका हुन्।

नेपाली सेनाले नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशनअनुसार प्रकृति र पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान थालेको हो।

विश्वका अग्ला हिमालहरूको स्वच्छता कायम राख्न तथा जलवायु परिवर्तनका असरहरु न्यूनीकरणको लागि सुरु गरिएको सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालको सफाइ सेनाले गरिरहेको छ। उक्त हिमालहरूको आरोहण गर्ने योजना रहेको समेत नेपाली सेनाले जानकारी दिएको छ।

सेनाकाअनुसार सगरमाथा, ल्होत्से तथा बरुञ्चे हिमालतर्फको टोलीहरू उक्त हिमालको वेसक्याम्पमा पुगी अनुकुलता हेरिरहेको छ। साथै फोहोर संकलन समेत गरिरहेको नेपाली सेनले जानकारी दिएको छ।

विगत केही वर्षदेखि सफा हिमाल अभियानको अगुवाइ गर्दै आएको नेपाली सेनाका हिमाल सफाइमा संलग्न हुने टोलीहरूलाई गत चैत १४ गते जंगीअड्डाबाट विदाई गरिएको थियो।

प्रकाशित: ४ वैशाख २०८० १६:४९ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast