संस्कृत कर्मकाण्ड होइन भौतिकवाद हो : मोहन वैद्य

हिमाल प्रेस १ वैशाख २०८० २०:५६ | Friday, April 14, 2023
संस्कृत कर्मकाण्ड होइन भौतिकवाद हो : मोहन वैद्य फाइल तस्बिर।

दाङ– नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ले संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक तथ्यमा आधारित भएको बताएका छन्। आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ। यो अकाट्य कर्मकाण्ड हो भन्ने बुझाइ छ, त्यो विल्कुल गलत हो। संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो। यसको महत्त्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको छ,’ उनले भने।

नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनतातिर पनि जानुपर्ने अवस्था रहेको उनको भनाइ छ। संस्कृत विद्याबारे बुझाइ स्पष्ट नहुँदा संस्कृत धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको उल्लेख गर्दै उनले संस्कृत भाषाबारे राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताए।

समाज रूपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे।

‘हामीले बोल्ने अंग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन्। यसमा ज्ञान हुन्छन्। त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ। त्यसैले संस्कृत विद्या वैज्ञानिक छ,’ उनले भने।

प्रकाशित: १ वैशाख २०८० २०:५६ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast