 
                             
                                            काठमाडौँ- नेपाल उद्योग परिसंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग छलफल गरेको छ। परिसंघका पदाधिकारीले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रलगायत विषयमा मन्त्री भण्डारीसँग छलफल गरेका हुन्।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मंगलबार मन्त्री भण्डारीसँग विद्यमान अर्थतन्त्रमा देखिएका समस्या तथा समाधान विषयमा छलफल गरेको हो।
परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचनका कारण उद्योगी व्यवसायी नाजुक अवस्थामा पुगेको बताए। उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावलगायत कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको उनको भनाइ थियो।
अर्थतन्त्र सुधारका लागि उद्योगी व्यवसायीहरूको मनोबल बढाउन आवश्यक रहेको उनले बताए। हालको अवस्था थप लम्बिएमा श्रम कटौती गर्नुपर्ने अवस्था आउनेतर्फ उनले मन्त्री भण्डारीको ध्यानाकर्षण गराए।
अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्च बढाउनुपर्ने, खुम्चँदो माग बढाउन हाल लागू गरिएको नीतिगत व्यवस्थामा केही लचकता अपनाइनुपर्ने अध्यक्ष अग्रवालको भनाइ थियो।
त्यस्तै अवैध कारोबार रोक्न सीमा क्षेत्रमा कडाई गरिनुपर्नेलगायत विषय पनि सम्बोधन गरिनुपर्ने परिसंघको भनाइ छ। छलफलमा मन्त्री भण्डारीले अर्थतन्त्रमा सुधार ल्याउन परिसंघको सुझावमा थप छलफल गरिने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 