 
                             
                                            काठमाडौँ- शब्दाङ्कुर साहित्यप्रधान मासिकले शब्दाङ्कुर कथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्नाका साथै उत्कृष्ट १० कथा विशेष अङ्क सार्वजनिक गरेको छ। काठमाडौँस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजित कार्यक्रम प्रा. कृष्ण गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
प्रमुख अतिथि गौतमले कथा लेखन साहित्यको प्राचीनतम विधा भएको बताए। ‘प्राचीन समयदेखि नै एसियामा कथा, आख्यानजस्ता विधा प्रशस्त लेखिएका यथेष्ट प्रमाण छन्। दक्षिण एसिया त अझ कथाको भण्डार हो’, उनले भने। गौतमले विश्व साहित्यमा कथा लेखनमा नवीनतम प्रयोग प्रशस्त भएको र नेपाली कथा लेखनमा नयाँ शैली सुरु हुन थालेको बताए। उनले साहित्यमा उत्तरआधुनिकताको सन्दर्भ कोट्याउँदै साहित्य लेखनमा नयाँ प्रयोग आवश्यक रहेकोमा जोड दिए।
समालोचक ज्ञानु अधिकारीले सार्वजनिक भएका उत्कृष्ट १० कथाहरूमाथि समीक्षात्मक धारणा राखेकी थिइन्। ‘कथाहरूमा सामाजिक यथार्थ चित्रण प्रशस्त देखिन्छ। अभाव, बेरोजगार, जातीय विभेद, लैङ्गिक समस्या, युवामा देखिने नैरश्य र विचलनलगायतका विषयको सबल चित्रण सङ्गृहीत कथामा पाइन्छ’, उनले भनिन्।
‘कुनै पनि सिर्जना आफैँमा राम्रो वा खराब हुँदैन, तुलनात्मक रूपमा पाठकले कसरी ग्रहण गर्छन्। यसमा साहित्यिक मूल्य कति छ भन्ने आधारमा तिनको मूल्याङ्कन हुने गर्दछ’, उनले भनिन्। बजारमा धेरै कथाहरू आउने भएकाले केही फरक रूपमा परिचय निर्माण गर्न कथालेखनमा नवीन शैली र शिल्प आवश्यक रहेको कुरा अधिकारीले औँल्याएकी थिइन्।

कार्यक्रमका सभापति एवम् शब्दाङ्कुर साहित्यप्रधान मासिकका सल्लाहकार प्रा.डा. जीवेन्द्रदेव गिरीले सार्वजनिक कथाहरू धेरै सामाजिक धारामा लेखिएको हुँदा तिनले सामाजिक यथार्थ उजागर गर्ने बताए। समाजमा विद्यमान आर्थिक अभाव, बिदेसिनुपरेको बाध्यताले परिवारिक जीवनमा ल्याएको विखण्डन, जात व्यवस्थाले सिर्जना गरेको सामाजिक चुनौतीहरू कथाभित्र यथार्थ रूपमा चित्रण भएको उउनको भनाइ थियो।
कार्यक्रममा निर्णायकका तर्फबाट सुदीप पोख्रेलले सङ्क्षिप्त धारणा राखेका थिए।
शब्दाङ्कुर साहित्यिक पत्रिकाले २२ औँ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रतियोगितामा प्रा.डा. अजय रिसालको ‘मोबाइलको घण्टी’ शीर्षक कथाले प्रथम स्थान प्राप्त गर्यो भने नन्दलाल आचार्यको ‘केटो कथा’ कथाले दोस्रो स्थान र अज्ञात युवकको ‘दुर्व्यहार’ कथाले तेस्रो स्थान प्राप्त गरेको थियो। विजेताहरूलाई क्रमशः १०, ६ र ५ हजार नगदका साथै प्रमाणपत्र प्रदान गरिएको थियो।
सहभागीहरूलाई स्वागत भाषण सम्पादक टेकेन्द्र चेम्जोङले, कार्यक्रमउपर प्रकाश सम्पादक गोविन्द घिमिरेले, धन्यवाद ज्ञापन व्यवस्थापक तुलसी कन्दङ्वाले गरेका थिए।
कार्यक्रमको सञ्चालन प्रधान सम्पादक धीरकुमार श्रेष्ठले गरेका थिए।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 