लेखा समिति अध्यक्षमा एमालेका तीन सांसदको दाबी

हिमाल प्रेस २७ चैत २०७९ १६:१० | Monday, April 10, 2023
लेखा समिति अध्यक्षमा एमालेका तीन सांसदको दाबी

काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्वमा एमालेका तीन सांसदको दाबी प्रस्तुत भएको छ। नेताहरुका अनुसार लेखा समितिको सदस्य हुन एमालेका १० जना सांसदले चाहना राखेका छन्।

त्यसमध्ये लेखा समितिको सभापतिमा अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बास्कोटाको दाबी प्रस्तुत भएको हो।  मैनाली बारा १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। पोखरेल मोरङ–२ र बास्कोटा काभ्रेपलाञ्चोक–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

मैनाली आफूले लेखासहित कानुन न्याय तथा मानवअधिकार समिति र विकास तथा पूर्वाधार समिति सदस्यमा समेत चाहना राखेको बताउँछन्।  उनी भन्छन्, ‘सदस्य रोज्ने हदसम्म चाहना राखेको छु। पार्टीले सभापतिकै रुपमा जिम्मेवारी दियो भने नाइँ भनिँदैन। तर त्यस हिसाबले कुनै निर्णय भइसकेको भने होइन।’

यी तीनबाहेकले पनि सभापतिको जिम्मेवारी पाउन सक्ने एमाले नेताहरु नै बताउँछन्। एक नेता भन्छन्, ‘अध्यक्ष (केपी शर्मा ओली)ज्यूले केही संकेत गर्नुभएको छैन। त्यसकारण आकांक्षा राख्नेले नै सभापति पाउँछन् भनेर भन्न सकिने अवस्था रहेन।’

एमाले संसदीय दलको कार्यालयका अनुसार अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल र गोकुलप्रसाद बाँस्कोटासहित रघुवीर महसेठ, ठाकुर गैरे, वसन्तकुमार नेम्वाङ, वासुदेव घिमिरे, राजेन्द्रकुमार राई, कृष्णगोपाल श्रेष्ठ र तारा लामा तामाङले लेखा समिति सदस्य बन्ने चाहना राखेका छन्।

नेताहरू लेखा समितिको सभापति पाउनेमा विश्वस्त छन्। त्यस आधारमा सभापतिका लागि एमालेका आकांक्षीबारे पनि छलफल सुरु भएको छ।

प्रकाशित: २७ चैत २०७९ १६:१० | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast