लगानी भित्र्याउन अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग अर्थमन्त्रीको छलफल

हिमाल प्रेस ६ वैशाख २०८० १९:०६ | Wednesday, April 19, 2023
लगानी भित्र्याउन अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग अर्थमन्त्रीको छलफल

काठमाडौँ- नेपालमा लगानी भित्र्याउन अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय लगानी गर्ने वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन्। महतले स्विस राजदूत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिट्युसन (डीएफआई)का प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।

नेपालको विकासमा आवश्यक पुँजी र कर्जा विस्तार गरी लगानी भित्र्याउने विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डीएफआईका प्रतिनिधिहरूले सुझाव प्रस्तुत गरेका थिए। सो क्रममा मन्त्री डा. महतले डीएफआईका प्रतिनिधिहरूबाट प्राप्त सुझावहरू अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नियमन संयन्त्रबारे चर्चा गर्दै मन्त्री महतले लगानी आकर्षण गर्न सरकार नयाँ ढंगले लागिपरेको बताए। ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ,’ उनले भने।

सन् २०२६ पछि नेपाल अतिकमविकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा परम्परागत वैदेशिक सहायताहरू कम गरी विकासका लागि नयाँ औजारहरू लिएर अगाडी बढ्न छलफल सान्दर्भिक रहेको डा. महतले बताए।

छलफलमा डीएफआईका तर्फबाट एडीबी, ब्रिटिसको बिआईआई, अमेरिकाको डीएफसी, नेदरल्यान्डको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआईएफईएमका प्रतिनिधिहरूको सहभागिता थियो।

प्रकाशित: ६ वैशाख २०८० १९:०६ | Wednesday, April 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast