रियलले त्यागेको छैन च्याम्पियन बन्ने लक्ष्य, चौथो स्थानको लडाइँमा सोसिडाड र बेटिस

हिमाल प्रेस १० वैशाख २०८० १०:४८ | Sunday, April 23, 2023
रियलले त्यागेको छैन च्याम्पियन बन्ने लक्ष्य, चौथो स्थानको लडाइँमा सोसिडाड र बेटिस

काठमाडौँ- मार्कस असेन्सियो र इडर मिलिटाओले एक-एक गोल गरेपछि रियल म्याड्रिडले शनिबार राति स्पेनी ला लिगामा सेल्टा भिगोलाई २-० ले पन्छाएको छ। यो जितले रियल र शीर्षस्थानको दूरी आठ अंकमा झारेको छ।

ला लिगामा २० औँ जितपछि रियलको ६५ अंक भएको छ। रियलभन्दा एक खेल बढी खेलेको बार्सिलोनासँग ७३ अंक छ। अब आठ खेल मात्र खेल्न बाँकी रहे पनि रियलले उपाधि होडमा बार्सिलोनालाई भेट्ने आशा मारेको छैन। रियलका प्रशिक्षक कार्लो एन्सिलोट्टीले बार्सिलोनालाई नजिकबाट पछ्याउन बाँकी सबै खेल जित्नु पर्ने बताएका छन्।

घरेलु लिग जित्ने सम्भावना कम भए पनि रियल अन्य दुई प्रतियोगिताको च्याम्पियन बन्ने सम्भावना भने बाँकी छ। एन्सिलोट्टी नेतृत्वको रियलले आउँदो मे महिनामा कोपा डेल रेको फाइनल खेल्दैछ। जहाँ उसको विपक्षी तुलनात्मक रुपमा कमजोर ओसासुना छ। च्याम्पियन्स लिग सेमिफाइनलमा भने रियलको भेट बलियो म्यानचेस्टर सिटीसँग हुनेछ।

लिग लिडर बार्सिलोना आइतबार ला लिगामा एट्लेटिको म्याड्रिडको सामना गर्दैछ। हाल तेस्रो स्थानमा रहेको एट्लेटिकोसँगको यो खेल बार्सिलोनाका लागि सहज हुने छैन। कारण? एट्लेटिकोको वर्तमान लय। एट्लेटिको ११ खेलमा अपराजित छ। डिएगो सिमओनेले पछिल्ला ६ खेलमा लगातार विजय हासिल गरेको छ।

यस्तोमा रियलको अपेक्षा छ, एट्लेटिकोले अपराजित शृंखलालाई जारी राखोस्। गएका दुई खेलमा बार्सिलोना तुलनात्मक रुपमा कमजोर विपक्षीसँग बराबरीमा रोकिएकाले पनि रियलले यस्तो अपेक्षा राखेको हो।

रियले घरेलु मैदानमा ६ मिनेटभित्र दुई गोल गरेको थियो। विंगर असेन्सियोेले भिनिसियस जुनियरको पासमा रियलको पहिलो गोल गरेका थिए। दोस्रो गोलमा पहिलो गोलकर्ता असेन्सियोको कर्नर निर्णायक साबित भयो। उनको कर्नरबाट आएको बललाई ब्राजिलेली रक्षक मिलिटाओले हेडरमार्फत जाली चुमाएका थिए।

‘हामी अन्तिम खेलसम्म लड्नेछौँ। किनभने आफ्नो भागको बाँकी सबै खेल जिते, लिग च्याम्पियन बन्ने गणितीय सम्भावना रहन्छ,’ जितपछि एन्सिलोट्टीले भने, ‘अब लगातार तीन खेल लगातार जितेर ध्यान कोपा डेल रे फाइनलतिर केन्द्रित गर्नुछ।’

हाल रियलसामु जित लयलाई निरन्तरता दिने र बार्सिलोनासँगको दूरी कम गर्न प्रयास गर्नेबाहेकको विकल्प नरहेको एन्सिलोट्टीको भनाइ थियो।

गत सिजन च्यााम्पियन्स लिग जितेको रियलले युरोपेली उपाधि रक्षाको सपना त्यागेको छैन। अन्तिम चारमा स्थान पक्का गर्न रियलले गत बुधबार चेल्सीलाई पन्छाएको थियो। चेल्सीलाई उसकै मैदानमा २-० ले हराएको रियल ला लिगामा फर्कदा एन्सिलोट्टीले पाँच खेलाडी परिवर्तन गरेका थिए।

सेल्टासँगको यो खेलमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले ८१ औँ मिनेटदेखि मात्र खेले। अर्का पाका मिडफिल्डर टोनी क्रुस भने बेन्चमै रहे। चेल्सीसँगको खेलमा सब्स्टिच्युट हुनुपरेपछि आक्रोशित देखिएका कप्तान करिम बेन्जेमालाई पहिलो एघारमा राखिएको थियो। तर उनलाई सेल्टाको रक्षापंक्तिले चल्न दिएन।

मुख्य फरवार्ड बेन्जेमा विपक्षी टिमको कडा निगरानीमा परेको खेलमा असेन्सियो र भिनिसियस सक्रिय रहे। प्राय सब्स्टिच्युटको भूमिकामा रहने असेन्सियाले सेल्टाविरुद्ध गरेको गोल यो सिजनको आठौँ गोल थियो। उनले सबैखाले प्रतियोगिताका पछिल्ला १० खेलमा पाँच गोल गरेका छन्।

‘ममाथि प्रशिक्षकको विश्वास छ। त्यसकारण पहिलेभन्दा अलि बढी खेल्न पाइरहेको छ। मौकाको भरपूर फाइदा उठाउने मेरो लक्ष्य हो। जति बढी खेल्न पाइयो, त्यति बढी गोल गर्ने सम्भावना रहन्छ। मुख्य कुरा त खेल्न पाउँदा मन र मस्तिष्क शान्त रहन्छ,’ सेल्टाविरुद्धको खेलपछि असेन्सियोले भने।

सेल्टाविरुद्ध असेन्सियो र मिलिटाओले गोल गरे पनि सबैको नजर एडुवार्डो कामाभिंगामाथि थियो। पछिल्लो समय लेफ्टब्याक पोजिसनमा खेलिरहेका फ्रेन्च मिडफिल्डरले फेरि एकपल्ट उम्दा खेल देखाए।

‘उनी हरेक गुणले युक्त खेलाडी हुन्। उनी यति प्रतिभावान् छन् कि, जुनसुकै पोजिसनमा खेल्न सक्छन्। खेल्न मात्र होइन निर्णायक साबित हुने खुबी छ,’ २० वर्षीय कामाभिंगको तारिफ गर्दै एन्सिालेट्टीले भने।

सोसिडाडको नजरमा च्याम्पियन्स लिग

बार्सिलोना र म्याड्रिडका दुई क्लबले शीर्ष तीन ओगट्दा चौथो स्थानमा रियल सोसिडाड छ। अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यलाई मजबुत बनाउने क्रममा सोसिडालाले शनिबार राति रायो भाएकोनालाई २-१ ले हरायो। सोसिडाडले पछिल्लो पटक सन् २०१३÷१४ सिजनमा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेलेको थियो।

पाँचौँ स्थनको रियल बेटिस ओसासुनासँग ३-२ ले हारेकाले पनि सोसिडाडले चौथो स्थानमाथिको पकड बलियो बनाउन सकेको हो। सोसिडाडको ३० खेलबाट ५४ अंक छ भने त्यति नै खेल खेलेको बेटिससँग ४८ अंक छ।

बेटिसलाई आइतबार राति भिल्लारियलले उछिन्न सक्छ। बेटिसभन्दा मात्र एक अंकल पछि रहेको भिल्लारियल १३ औँ स्थानको सेभियासँग आमनेसामने हुँदैछ।

घरेलु मैदानमा सोसिडाड दोस्रो हाफको ५७ औँ मिनेटमा पछि परेको थियो। भाएकानोलाई अघि बढाउन इसी पालाजोनले गोल गरेका थिए। तर दुई मिनेटपछि नै एलेक्जान्डर सोरलोथले गोल गरेपछि सोसिडाड बराबरीको स्थितिमा पुगेको थियो।

जारी सिजनको सातौँ बराबरीको संघारमा पुगेको सोसिडाडलाई ८१ औँ मिनेटमा राहत मिल्यो। भाएकानोका फ्लोरियन लेजुएनेले आत्मघाती गोल गरेपछि सोसिडाड जिततर्फ लम्किएको थियो। हारका बाबजुद भाएकानो नवौँ स्थानमा यथावत् छ।

बेटिसलाई पराजित गर्न घरेलु टिम ओसासुनाका आन्टे बुडिमिरले छैटौँ र ११ औँ मिनेटमा गोल गरेका थिए। पाँच मिनेटपछि जुवान मिरान्डाको गोलले अन्तर घटाए पनि बेटिसले ४१ औँ मिनेटमा तेस्रो गोल खाएको थियो। दोस्रो हाफको ७० औँ मिनेटमा बेटिसका गुइडो रोड्रिगेजले गोल त फर्काए तर हार टार्न पर्याप्त भएन।

हारपछि बेटिसका प्रशिक्षक म्यानुएल पेलिग्रिनीले च्याम्पियन्स लिग खेल्ने सपना त्यागिनसकेको प्रतिक्रिया दिए। ‘अझै आठ खेल खेल्न बाँकी छ। हामी ती खेलबाट अधिकतम अंक बटुल्दै च्याम्पियन्स लिग सपना जीवित राख्न चाहन्छौँ,’ पेलिग्रिनीले भने।

प्रकाशित: १० वैशाख २०८० १०:४८ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast