 
                             
                                            मन्थली- रामेछापमा मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको खुलेको छ। रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले आफ्नो पालिकाका मृतकका नाममा समेत भत्ता वितरण गरेको खुलेको हो।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६०औँ वार्षिक प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मृतकका नाममा पनि भत्ता वितरण गरेको खुलासा गरेको हो। कानूनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनयोग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्नेमा केही वडानाले भत्ता वितरण गरेको महालेखाले औँल्याएको हो।
लेखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ का मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृतकको नाममा पनि निजको परिवारका सदस्यलाई सामाजिक सुरक्षा भत्ता नियमित उपलब्ध गराइएको महालेखाले उल्लेख गरेको छ।
उक्त विवरणका आधारमा महालेखा परीक्षकको कार्यालयले मरेको मितिभन्दा पछि कसैलाई पनि सामाजिक भत्ता दिन नमिल्ने भएकाले सम्बन्धित पक्षसँग उक्त रकम असुलउपर गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने उल्लेख गरेको छ।
यसबारेमा पालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत उज्ज्वल पाठकले गत वर्ष वडा सचिव पनि अरु नै भएको र सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा केही कमजोरी हुन गएको स्वीकार गरे। ‘कार्यालयले केही व्यक्तिको लगत कट्टा गराउन छुटाएबापत त्यसो भएको र भत्ता बुझेसँगै सरोकारवाला व्यक्तिले मृत्यु दर्ताको प्रक्रिया पूरा गरिसकेको छ,’ उनले भने, ‘अब मृत्यु भएपश्चात लिएको रकम फिर्ता हुन्छ र यस्तो घटना दोहोरिँदैन।’ रासस

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 