 
                             
                                            इलाम रसिलो ठाउँ लाग्छ। ताप्लेजुङ, पाँचथर हुँदै त्यहाँ पुग्दा आनन्दको अनुभूति हुन्छ। अम्रिसोको बोटसँगै चियाका बगान देखिन थालेपछि इलामनजिकै आएको आभास हुन्छ। हामी फिदिमबाट हिँड्दा इलामको श्रीअन्तुमा बास बस्ने गरी हिँडेका थियौँ। फिक्कलमा चिया बगान र उद्योग हेर्न जानुपर्ने थियो।
बाटोमा चियाको डोको बोकेकी महिलाको कलात्मक प्रस्तरमूर्ति देखियो। त्यस मूर्तिले इलामको चिया उत्पादनको बखान गर्दै थियो। यसै पनि इलाम ‘अ’ बाट आउने वस्तुका लागि प्रख्यात छ। अलन (दूध), अम्रिसो, अदुवा, अलैँचीजस्ता कृषि उत्पादनका लागि प्रसिद्ध छ। चिया त झन् भन्नै परेन।
भनिन्छ, चीनका बादशाहले नेपालका प्रधानमन्त्री श्री ३ जंगबहादुर राणालाई उपहारमा दिएको चियाको बोटलाई इलाममा सारिएको थियो। त्यसबाट बढाउँदै अहिलेको अवस्थामा आइपुगेको हो। सन् १८६३ मा इलाममा पहिलो चिया बगान ‘इलाम टी स्टेट’ स्थापना गरिएको थियो। त्यही बेला बेलायतीहरू भारतको दार्जिलिङमा चियाका ठूलठूला बगान लगाउँदै थिए।
इलाम पुग्दा भोकले व्याकुल थियौँ। स्थानीय चोकबजार गएर खाना खाने भयौँ। त्यसको एउटा कारण थियो, चोकबजारमा रहेका परम्परागत मिठाईका दोकान। हुन त मुम्बैसन इलामको अरू मिठाई पसलमा पनि पाइन्छ। तर यहाँको मिठाई शुद्ध घिउमा बनाइएको हुन्छ। सप्तरीको ‘बाजेको पेडा’ जस्तै यहाँको मुम्बैसन प्रख्यात छ।
सहयात्री ऋतु सर झापावासी हुन्। उनी यो मुम्बैसनका पारखी रहेछन्। यसको स्वाद जिब्रोमा टाँसेर बस्नुभएको रहेछ। पाँचथरबाट बाटो लाग्नेबित्तिकै मुम्बैसनको बखान गर्दै थिए। उनको कुरा सुनेर हामी पनि मुम्बैसनप्रति लोभियौँ। उनी भन्दै थिए, ‘यो बम्बईको लड्डुजस्तो होइन। जो खाया पछुताया, न खाया तो भी पछताया’। हामी पनि मुम्बैसन चाख्नैपर्ने निचोडमा पुग्यौँ।

चोकमा पुग्नेबित्तिकै ऋतु सर हामीलाई थाहापत्ता नदिई फुत्त गाडीबाट ओर्लेर मिठाई दोकानतर्फ कुदेछन्। उनी कता लागे भेउ नै पाएनौँ। केही बेरपछि उनी हातमा एउटा पोका बोकेर आए। तेस्र्याउँदै भने, ‘चाखी हेरौँ।’ मुम्बैसनको स्वादमा हामी लट्ठियौँ। पेटभरि खायौँ। अनि घरका लागि कोसेलीका रूपमा पनि पोका पार्यौँ।
इलामबजारबाट तल झरेर हामी फिक्कलतर्फ लाग्यौँ। फिक्कललाई प्रायः बादलले छोपी रहन्छ। चिसो बतास चल्छ सररर। मनै हर्षित हुन्छ। चियाको पातपातमा रमाउँछ फिक्कल। आँखाको डालीडालीमा नाच्छ।
रम्फोक ग्रिन टी एन्ड एग्रो प्रोसेसिङ इन्डस्ट्रीका ठाकुर श्रेष्ठले ८१ रोपनी जग्गामा चिया खेती गरेका रहेछन्। उनले यो काम गर्न थालेको दुई दशक भइसक्यो। अहिले भने आफ्नै उद्योग स्थापना गरेर चिया प्रशोधन पनि गर्दा रहेछन्। विभिन्न प्रकारका चिया उत्पादन गरेर बिक्री गर्छन्।
गोल्डन टी, ग्रिन टी, ब्ल्याक टी, अर्थोडक्सलगायत अनेक प्रकारका चिया उत्पादन हुने रहेछ। उनले चिया बगानमै लगेर चियाको गुणवत्ताबारे हामीलाई बताए। तीनपाते, दुईपाते सुइरोको विषयमा पनि बताए।
चिया बगान भ्रमणपछि चिया प्रशोधन विधिलगायत हेर्ने अवसर पायौँ। चियाको पातलाई कसरी तताइन्छ। एकपछि अर्को प्रक्रियामा लगेर अन्तिममा त्यसलाई कसरी प्याक गरिन्छ सबै थाहा पायौँ। चियाबारे विभिन्न जानकारी पाएपछि हामी श्रीअन्तु डाँडातर्फ लाग्यौँ।

फिक्कलबाट पशुपतिनगर जाने बाटोभन्दा केही दक्षिण आएर पूर्व लाग्नुर्छ श्रीअन्तु जान। यो डाँडो सीमावर्ती भारतीय सहरमा निकै चर्चित रहेछ। सिक्किमबाट पर्यटक आएका थिए। सप्ताहन्तमा श्रीअन्तुमा बास पाउनै मुस्किल हुने रहेछ। होटलहरू होम–स्टेका रूपमा सञ्चालन गरिएका रहेछन्। जसोतसो एउटा होम–स्टेमा बास पाइयो।
श्रीअन्तु सूर्योदय हेर्न गइन्छ। डाँडाबाट फुत्त निक्लिएको सूर्य नगरकोटमा पनि हेरिएकै हो। अरू डाँडाबाट पनि नियालिएको हो। समुद्रबाट फुत्त निक्लिएको सूर्यलाई त झन् जापानको टोकियोमै हेरिएको हो। तैपनि सूर्योदय र सूर्यास्त हेर्ने चाहना सधैँ रहन्छ। कसैलाई सूर्योदयको रश्मिले मोहनी लगाउँछ, कसैलाई सूर्यास्तको गोधुली साँझले।
बिहान सबेरै उठेर श्रीअन्तु डाँडा चढियो अनि सूर्योदयको प्रतीक्षा गरियो। अघिल्लो साँझदेखि आकाश धुम्मिएको थियो। भोलिपल्ट बिहानसम्म आकाश खुलेकोे थिएन। बादलको छिद्रबाट पनि सूर्यले चिहाएर नहेरेपछि हामी सूर्योदय नहेरी फर्किन बाध्य भयौँ।
१८०० मिटरमात्र अग्लो भए पनि श्रीअन्तुको सुन्दरता यसको परिवेश र प्राकृतिक छटाले प्रस्तुत गरेको छ। यहाँका अग्ला सलक्क बढेर चुलिएका सल्लाका रूख विशेष किसिमका छन्। टुप्पामा थुपुक्क गोलाकार बनेर झुप्पिएका लहरे रूख पनि लोभ लाग्न खालका छन्।
तरेली परेका पहाडका लहर र त्यसमाथि चियाका बगान। यहाँको सुन्दरता थपेको छ। श्रीअन्तुबाट पूर्व फर्किएर हेर्यो भने भारतको दार्जलिङ सहर देखिन्छ। श्रीअन्तुबाट सूर्योदय देख्न नपाएपछि हामी बाटो लाग्यौँ।

झापादेखि फिक्कल र श्रीअन्तुसम्म नै चियाको बगान देखिएपछि अनुमान लगाउन गाह्रो भएन कि चियाका लागि उपयुक्त हावापानी १८/१९ सय मिटरसम्म रहेछ। झापाको चाहिँ सोक्तिम चिया हो। जो १९६५ तिर स्थापना भएको हो। यी चियाका बगान रमणीय त छन् नै चियाका बुटा र पत्तासँग रमाएर जीवनको आर्थिक पाटोलाई सम्हाल्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण छ।
धेरै वर्षअघि देखेको कन्यामको रूप फेरिएछ। कन्याम भन्नेबित्तिकै त्यहाँको चिया दिमागमा आइहाल्छ। कन्याम चिया बगान यति विशाल छ कि यसको सौन्दर्यले सबैलाई आकर्षित गर्छ। कपितय विज्ञापन र फिल्ममा देखिने चिया बगानको दृश्य यहीँको हो। यो अवसरलाई हामीले पनि गुम्न दिएनौँ। केही तस्बिर खिच्यौँ। सम्झनास्वरूप क्यामेरामा कैद गर्यौँ।
केही वर्षअघि यहाँको बाटो सानो थियो। अहिले फराकिलो बनाइएछ। पर्यटन, स्थानीय रोजगारी र व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य लिएर कन्यामको व्यवस्थापनमा सुधार गरेको देखियो। कन्याम हेर्न आउने पर्यटकलाई घोडामा चढ्ने व्यवस्था मिलाइएको छ। तस्बिर लिने फोटोग्राफर पनि भेटिन्छन्। फ्रेममा हालेर चिटिक्क पारेर तस्बिर हातमा थमाउँछन्।
सबैभन्दा व्यवस्थित त सडकका दुवै किनारामा १६० वटा ह्विलकार्टमा पसल राख्न दिइएका छन्। प्रत्येक ह्विलकार्टले नगरपालिकालाई दिनको ३० रुपैयाँ तिर्नुपर्ने रहेछ। पसलको ढोका नखोलेको दिन भने पैसा तिर्न नपर्ने रहेछ। पसल तीन किसिमका रहेछन्– चियाखाजा, उपहारका सामान र लत्ताकपडा।
यी सबै पसलबाट निस्किएको फोहर कुनै निश्चित ठाउँमा राख्नुपर्ने र नगरपालिकाले उठाएर लाने रहेछ। ठाउँ सफा छ। त्यहाँको व्यवस्थापन गर्ने तरिका काठमाडौँलगायत अरू महानगरले सिके कति राम्रो हुँदो हो भन्ने लाग्यो। कम्तीमा नगर प्रहरीले गरिबको ठेलागाडा लुटेको दृश्य हेर्नु परेन।
कन्यामको चियाबारी र यसको सुन्दरतासँग लगाएको मितेरीलाई मनभित्र एउटा कुनामा थन्क्याएर हामी बाटो लाग्यौँ तराईको गर्मी खान झापातिर।



 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 