 
                             
                                            काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका छन्। आइतबार दुवै नेतासँग भेट गरेका महासंघका प्रतिनिधिले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका थिए।
तीनै जना शिर्ष नेताले अख्तियारसम्बन्धी विधेयक अहिलेकै अवस्थामा अघि नबढाउने आश्वासन दिएका छन्। निजी क्षेत्रलाई अख्तियारले नियमन गर्न पाउने गरी अख्तियारसम्बन्धी विधेयक आउन लागेको भन्दै महासंघ प्रतिनिधिले गराएको ध्यानाकर्षणका क्रममा शिर्ष नेताले उक्त आश्वासन दिएका हुन्।
राष्ट्रियसभामार्फत प्रतिनिधिसभामा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी संशोधन विधेयकमा निजी क्षेत्रको पनि नियमन गर्न पाउने व्यवस्था गरिएको छ। सो व्यवस्थाले निजी क्षेत्रमा लगानी निरुत्साहित हुने व्यवसायीका छाता संगठन औंल्याउँदै आएका छन्।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शिर्ष नेताहरूसँगको भेटमा निजी क्षेत्रलाई अख्तियारले नियमन गर्न पाउने व्यवस्था हटाउन माग गरेका छन्।
सोही क्रममा कांग्रेस सभापति देउबाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरी कानुनी व्यवस्था नराखिने बताए। अख्तियारले निजी क्षेत्र नियमन गर्न पाउने गरी कानुन पारित गर्न नहुने अध्यक्ष ढकालको भनाइ छ। यसबाट स्वदेशी एवं विदेशी लगानी निरुत्साहित हुने महासंघका पदाधिकारी बताउँदै आएका छन्।
अर्थतन्त्रमा ८० प्रतिशत भन्दा बढी लगानी र रोजगारी दिइरहेको निजी क्षेत्र उक्त व्यवस्था पारित भएमा हतोत्साही हुने र लगानीको वातावरण बिग्रिने महासंघ अध्यक्ष ढकालको भनाइ छ।
सोही विषयमा महासंघले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली तथा रक्षा एवं कानुनमन्त्री पूर्णबहादुर खडकाको यसअघि नै ध्यानाकर्षण गराइसकेको छ। सबै नेताले अख्तियारसम्बन्धी विधेयक अहिलेकै अवस्थामा पारित नहुने बताएको महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 