महावीर पुनको धर्नामा ‘हल्कारा’ अभिनेता महेश त्रिपाठी

हिमाल प्रेस १७ वैशाख २०८० १४:२३ | Sunday, April 30, 2023
महावीर पुनको धर्नामा ‘हल्कारा’ अभिनेता महेश त्रिपाठी

काठमाडौँ- अभिनेता महेश त्रिपाठीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसमक्ष विभिन्न माग राख्दै माइतीघर मण्डलमा गरिरहेको धर्नामा समर्थन जनाएका छन्।

माइतीघर पुगेर धर्नामा बसेर ऐक्यबद्धता जनाएको तस्बिर उनले सामाजिक सञ्जाल फेसबुकमा सेयर गरेका छन्। साथै, ऐक्यबद्धता जनाउनुको कारण खुलाउँदै लामो स्ट्याटस पोस्ट गरेका छन्।

‘कयौँ वैज्ञानिक मस्तिष्क आज हाम्रो देशको नीतिका कारण कि त बिदेसिएका छन् कि त्यो पेसाबाट नै पलायन,’ उनले लेखेका छन्, ‘यदि कुनै देशमा सिर्जना मर्यो भने त्यो देशको आफ्नो कुनै अस्तित्व हुँदैन। त्यो देश मरेतुल्य हुन्छ।’

रोजगारीका लागि नेपाली पुग्ने विकसित देशहरूले आफ्नो देशमा भएका नवप्रवर्तन, अनुसन्धानलाई संरक्षण गरेकै कारण त्यो स्थानमा पुगेको अभिनेताको भनाइ छ। ‘आफ्नो परिवार, माटो छोड्ने रहर कसैलाई हुँदैन,’ उनले थपेका छन्, ‘बाध्यताले जानुपर्छ। हरेक क्षेत्रका सिर्जनालाई सम्मान गर्ने। अनुसन्धान र नवप्रवर्तनलाई संरक्षण गर्ने नीति अब राज्यको बनोस्। यो निर्णायक आन्दोलन हुनेछ। त्यसैले माइतीघर पुगे। मेरो ऐक्यबद्धता छ।’

अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहयोग गर्न संघ र प्रदेश सरकारले विकास बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्ने माग गर्दै राष्ट्रिय आविष्कार केन्द्रका पुन धर्नामा बसेका हुन्। त्यस्तै उनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा रकम जम्मा गर्नुपर्ने माग गरेका छन्।

महेश अभिनीत फिल्म ‘हल्कारा’ आगामी वैशाख २९ मा प्रदर्शनमा आउनेछ। ‘हल्कारा’ एउटा हुलाकीको कथा हो। द्वन्द्वकालीन समयको कथा बोकेको फिल्ममा महेश हुलाकीको भूमिकामा छन्। विक्रम सापकोटाको निर्देशन रहेको फिल्ममा महेशसँगै विनिता थापामगर मुख्य भूमिकामा छिन्। अन्तर्राष्ट्रियस्तरमा थुप्रै अवार्ड जितिसकेको ‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा उत्कृष्ट फिल्म घोषित भएको थियो। अनि महेशले फिल्मका लागि उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।

प्रकाशित: १७ वैशाख २०८० १४:२३ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast