 
                             
                                            काठमाडौँ- नेपाल टेलिकम (एनटीसी)को मधेश प्रादेशिक कार्यालयमा ट्र्याक्टरले फोहोर फालेपछि एनटीसीले आपत्ति व्यक्त गरेको छ।
मंगलबार वीरगञ्जस्थित टेलिकमको प्रादेशिक निर्देशनालय कार्यालयभित्र अपरिचित व्यक्तिले फोहोर फालेपछि बुधबार व्यक्ति निकालेर टेलिकमले आपत्ति व्यक्त गरेको हो। ‘कार्यालय परिसरभित्र चैत २१ गते बिहान करिब सवा ९ बजे १५/२० जना अनधिकृत व्यक्तिको समूहले ५/७ ट्रयाक्टर फोहोर फालेको घटनाप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
टेलिकमको कार्यालय परिसमा फोहोर फाल्ने उक्त घटनाले महानगरको सफा र सुन्दर नगर निर्माण गर्ने अभियान विरुद्धको कार्य गरेको कम्पनीको भनाइ छ।
‘यस घटनाका कारण निर्देशनालयको वातावरण दुर्गन्धित भई स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिनुका साथै कार्यालयको काम गर्ने वातावरणमा समेत नकारात्मक असर पर्न गएकाले कम्पनी यस्तो गतिविधिप्रति खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा थप भनिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 