 
                             
                                            पोखरा- बाबा साहित्य साधक तथा ऋषिराम रानाभाट स्मृति सम्मानबाट पोखरामा चार स्रष्टा पुरस्कृत भएका छन्। बाबा साहित्य साधन सम्मान वर्ष २०७८ बाट तनहुँका साहित्यकार आनन्दसुन्दर श्रेष्ठ र वर्ष २०७९ बाट कास्कीकी कवि लीला अधिकारी सम्मानित भएका हुन्।
संघर्षमा कलम पोखराको वर्ष सम्मान कार्यक्रममा कवि तथा गीतकार दुर्गाबहादुर बाबाद्वारा स्थापित बाबा साहित्य सम्मानस्वरुप उनीहरूलाई जनही १० हजार र सम्मानपत्र प्रदान गरिएको थियो।
त्यस्तै ऋषिराम रानाभाट स्मृति सम्मान २०७८ बाट म्याग्दीका लोकनाथ भुषाल घायलश्री र वर्ष २०७९ बाट कास्कीकी सावित्री गिरी सम्मानित भए। संघर्षमा कलम साहित्य समाजले नेपाली वाङ्मय क्षेत्रमा क्रियाशील स्रष्टालाई २०६७ सालदेखि सम्मान गर्दै आएको छ। पुरस्कार राशि ५ हजार र सम्मानपत्र छ।
उनीहरूलाई वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी कोइराला, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, मदन पुरस्कार विजेता चन्द्रप्रकाश बानियाँ, बाबा साहित्य साधक सम्मान कोषका संस्थापक दुर्गाबहादुर शाह बाबा, अनेसास बोर्ड अफ ट्रष्टी कार्यसमिति सदस्य ऋषि बराललगायतले सम्मान गरेका हुन्। पुरस्कारका लागि कृष्णप्रसाद पौडेलको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको संस्थाका सदस्यसचिव साहित्यकार असफल गौतमले बताए।
संघर्षमा कलम पोखराले कोरोना महामारीको बेला आयोजना गरेको राष्ट्रिय अनलाइन कविता प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरियो। जसमा सुनसरीका किरण चौलागाई प्रथम, तेह्रथुमका बद्री श्रेष्ठ द्वितीय, कास्कीकी दीक्षा अधिकारी र पर्वतका श्रीकृष्ण शर्मा तृतीय भएका थिए। उनीहरूलाई क्रमशः ११ हजार, ५५ सय र ३३ सय नगद पुरस्कृत दिइएको अध्यक्ष कृष्ण रानाभाट सारथिले जानकारी दिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 