काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले चलचित्रमा अभिनय नगरेकाहरूको सदस्यता खारेज गर्ने निर्णय गरेको छ।
बुधबार काठमाडौँमा आयोजित नयाँ वर्षको आदानप्रदान कार्यक्रममा बोल्दै संघका अध्यक्ष मोहन निरौलाले चलचित्र नखेलेका कलाकारहरूको सदस्यता खारेज गर्ने बताएका हुन्।
सदस्य बनेकाहरूले नागरिकता मात्रै पेस गरेको र अन्य कुनै चलचित्रमा अभिनय गरेको अभिलेख नपाइएकाले सदस्यता खारेजीको लागि आफू निर्वाचनको प्रक्रियालाई पर्खेर नबस्ने उनले बताएका छन्।
‘जसले फिल्म खेलेको छैन, जो हाम्रो विधानको परिधिभित्र छैन त्यो सदस्य छ भने हामी निर्वाचनको प्रक्रियालाई पर्खेर बस्दैनौँ, हामी त्यसलाई खारेज नै गर्छौँ,’ उनले भने ‘सदस्य बन्नु भएकाहरू धेरैको नागरिकता मात्रै छ, फिल्म खेलेको कुनै आधार छैन, अभिलेखीकरण गर्दैछौँ, अभिलेखीकरणका लागि आइदिनुहोस्।’
कार्यक्रममा सबै सदस्यहरूले अभिलेखका लागि आफूले अभिनय गरेका चलचित्रहरूको बारेमा जानकारी दिन आग्रह गरे।
नवनियुक्त सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा छन्।
त्यस्तै, उपाध्यक्षमा कविता गेलाल र शिवहरि नेपाल तथा महासचिवमा सविन श्रेष्ठ छन्। सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा आचार्य छन्।

                                             
                                             
                                             
                                             
                                             
                                             

