परराष्ट्रमन्त्री बन्दै गरेका एनपी साउदले आज शपथ लिने

हिमाल प्रेस ३ वैशाख २०८० ७:०० | Sunday, April 16, 2023
परराष्ट्रमन्त्री बन्दै गरेका एनपी साउदले आज शपथ लिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज (आइतबार) परराष्ट्रमन्त्रीमा नारायणप्रसाद (एनपी) साउदलाई नियुक्त गर्ने भएका छन्। त्यसपछि दिउँसो ३ बजे साउदले परराष्ट्रमन्त्रीको हैसियतमा शपथ लिने कार्यक्रम तय भएको छ।

साउदलाई परराष्ट्रमन्त्री बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताले शनिबार सहमति जुटाएका थिए। प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अन्य विकल्प नभएको भन्दै साउदलाई परराष्ट्रमन्त्री बनाउन तयार भएका हुन्।

कांग्रेस केन्द्रीय सदस्य रहेका साउद कञ्चनपुर २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन्। साउदले यसअघिको सरकारमा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेसभित्रको विवादका कारण मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन। सभापति देउवाले डा। शेखर कोइराला समूहबाट अझ कसलाई मन्त्री बनाउने स्वीकार गरिसकेका छैनन्।

परराष्ट्रमन्त्री हुने व्यक्ति भाषादेखि कूटनीति मामिलामा समेत राम्रो पकड भएको हुनुपर्नेमा पहिलो पटक कांग्रेसबाट निकै कमजोर व्यक्तिलाई परराष्ट्रमा पठाउन लागिएको भन्दै कांग्रेसीहरू अलमलमा परेका छन्। यो सरकारमा साउद देउवा पक्षबाट मन्त्री बन्ने पाँचौँ नेता हुन्।

प्रचण्ड नेतृत्वको मौजुदा मन्त्रिपरिषद्‍मा कांग्रेसले उपप्रधानसहित चार मन्त्री पठाइसकेको छ। प्रधानमन्त्री प्रचण्डले देउवालाई मन्त्रीहरूको नाम टुंगो लगाउन पटकपटक आग्रह गरिरहँदा देउवाले अझै पूर्ण नामावली दिन सकेका छैनन्।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग शनिबार बिहान भएको कुराकानीमा नेपालले थप एक मन्त्रालय मागेपछि प्रचण्ड असजिलोमा परेका छन्।

कांग्रेसले अन्य थप पाँच मन्त्रालयको दाबी गरिरहेको छ। आठ मन्त्रालय पाउने भनेको कांग्रेसले आन्तरिक भागबण्डा मिलाउन थप ९ मन्त्रालय माग गरेको हो। एकीकृत समाजवादीबाट डा। वेदुराम भुसाल र प्रकाश ज्वाला गरी दुई जना मन्त्री बनिसक्दासमेत सो पार्टीले थप मन्त्रालय मागेपछि कांग्रेस र माओवादी नेपालसँग रुष्ट बनेका छन्।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले यसअघि चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए।

प्रकाशित: ३ वैशाख २०८० ७:०० | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast