पटना उच्च अदालतबाट राहुलले पाए राहत

हिमाल प्रेस १२ वैशाख २०८० १५:४५ | Tuesday, April 25, 2023
पटना उच्च अदालतबाट राहुलले पाए राहत

काठमाडौँ– भारतीय कांग्रेसका नेता राहुल गान्धीले ‘मोदी सरनेम’ मानहानि मुद्दामा राहत पाएका छन्। पटना उच्च अदालतले तल्लो अदालतको आदेश १५ मेसम्मका लागि स्थगित गरेको छ। यसअघि पटनाको तल्लो अदालतले राहुल गान्धीलाई अप्रिल १२ उपस्थित हुन र ‘मोदी सरनेम’माथि गरिएको कथित आपत्तिजनक टिप्पणीमा बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीद्वारा सन् २०१९ मा उनीविरुद्ध दायर गरेको याचिकाका सम्बन्धमा आफ्नो पक्ष राख्न भनेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार अप्रिल २२मा राहुल भारतीय जनता पार्टी (भाजपा)का नेता सुशील कुमार मोदीले दायर गरेको मानहानिको मुद्दामा तल्लो अदालतद्वारा जारी गरिएको समन रद्द गर्ने माग गर्दै पटना उच्च अदालत पुगेका थिए। मुद्दा रद्द गर्ने याचिका दायर गरेको राहुलका वकिल वीरेन्द्र राठौरले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्।

‘हामीले मुद्दा रद्द गर्ने याचिका दायर गरेका थियौँ,’ वकिल राठौरले भने, ‘एउटा मुद्दा सुरतको अदालतमा पहिलेदेखि चलिरहेको छ भने त्यसै मामिलामा अर्को अदालतमा सुनवाइ हुन सक्दैन। यो अवैध हो। अर्को सुनवाइ मे १५ मा हुनेछ। तल्लो अदालतले गरेका सबै कार्यवाही तबसम्मका लागि रोकिएका छन्।’ गत मार्च २३ मा गुजरातको एक अदालतले राहुललाई उनको ‘मोदी सरनेम’ टिप्पणीविरुद्ध सन् २०१९ मा आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको थियो।

राहुलविरुद्ध भाजपाका विधायक तथा गुजरातका पूर्वमन्त्री पूर्णेश मोदीद्वारा अप्रिल १३, २०१९ मा मुद्दा दर्ता गरिएको थियो। सो टिप्पणी राहुलले लोकसभा चुनावका बेला कर्नाटकको कोलारमा एक र्‍यालीमा गरेका थिए।
‘नीरव मोदी, ललित मोदी वा नरेन्द्र मोदी। सबै चोरजति मोदी नै किन छन्?’ राहुलले भनेका थिए।

दोषी ठहरिएको एक दिनपछि मार्च २४ मा राहुललाई लोकसभामा अयोग्य घोषित गरिएको थियो। लोकसभाले उनको सदस्यता रद्द गरेपछि भारतमा विपक्षी राजनीति तातिएको थियो।विपक्षी दलहरूले संसद् भित्र र बाहिर, बिहारसहित राज्य विधानसभामा त्यसको विरोध गरेका थिए। विपक्षी दलहरू भाजपा तथा नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध एकजुट देखिएका थिए।

राहुललाई दिल्लीमासरकारी निवास खाली गर्ने नोटिससमेत दिइएको थियो। सन् २००४ मा अमेठीबाट लोकसभा चुनाव जितेपछिपाएको सो सरकारी निवास अप्रिल २२ मा राहुलले खाली पनि गरेका थिए। त्यहाँबाट उनी आमा सोनिया गान्धीको आवासमा सरेका थिए। त्यसपछि उनले भनेका थिए, ‘म सत्य बोल्ने मूल्य चुकाउँदै छु।’

प्रकाशित: १२ वैशाख २०८० १५:४५ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast