निगमले भैरहवाबाट दिल्ली र क्‍वालालम्पुर उडान गर्ने

हिमाल प्रेस २ वैशाख २०८० १६:४१ | Saturday, April 15, 2023
निगमले भैरहवाबाट दिल्ली र क्‍वालालम्पुर उडान गर्ने

काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्‍वालालम्पुरमा सिधा उडान गर्ने भएको छ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि उक्त दुवै गन्तव्यमा नियमित उडान गर्ने भएको हो। त्यसका लागि आवश्यक तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।

उडानका लागि दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए। जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कामलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको पौडेलले जानकारी दिए।

दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको छ। मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए। ‘दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ,’ उनले भने, ‘अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ।’

भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरिएको छ। निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ।

विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमको भनाइ छ।

विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो। यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलंका, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो।

उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान गरिरहेको छ। हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो। भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान हुन सकेको छैन। रासस

प्रकाशित: २ वैशाख २०८० १६:४१ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast