नयाँ वर्षमा प्रधानमन्त्रीको प्रतिबद्धता : पार्टी कार्यालयबाहेकका स्थानमा कार्यकर्ता नभेट्ने

हिमाल प्रेस १ वैशाख २०८० ९:३४ | Friday, April 14, 2023
नयाँ वर्षमा प्रधानमन्त्रीको प्रतिबद्धता : पार्टी कार्यालयबाहेकका स्थानमा कार्यकर्ता नभेट्ने फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मन्त्रीहरूले आज (शुक्रबार) देखि पार्टी नेता–कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्र भेटघाट गर्ने भएका छन्।

अब हरेक शुक्रबार उनीहरूलाई नेता-कार्यकर्ताले पेरिसडाँडामा भेट्न सक्ने छन्।

पछिल्लो समय प्रचण्डसहित माओवादीबाट सहभागी मन्त्रीले सिंहदरबार वा बालुवाटारमा आफूहरूलाई भेट्न नआउन आग्रह नै गरेका छन्।

यसको सट्टा आफू साताको एक दिन पार्टी कार्यालय नै आउने भनेका छन्। ‘प्रधानमन्त्री कार्यालयमा पार्टी कार्यकर्ताको उपस्थितिले असहज भइरहेको छ,’ माओवादीका कार्यालय सचिव श्रीराम ढकाल भन्छन्, ‘त्यो उपस्थितिलाई पातलो बनाउन यस्तो निर्णय गरिएको हो।’

प्रचण्डसहितका मन्त्रीले हप्तामा एक दिन अपराह्न ४–६ बजेसम्म केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था गर्न पार्टीलाई निर्देशनसमेत दिएका छन्। प्रचण्डले सरकारका कामकारबाहीलाई गुणस्तरीय बनाउनका लागि पार्टीमा छलफल गर्न पटकपटक निर्देशन दिएका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूलाई आफ्नो काममा अवरोध नहोस् भनेर केन्द्रीय कार्यालयमा नेता–कार्यकर्तासँग भेट्ने व्यवस्था मिलाइएको हो।

माओवादी केन्द्रले यसअघि नै २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्री प्रचण्डसँगै माओवादीबाट मन्त्री बनेकाहरूलाई केन्द्रीय कार्यालयमा भेट्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

यही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन्। माओवादी मन्त्रीहरूलाई भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय मिलाइएको छ।

प्रकाशित: १ वैशाख २०८० ९:३४ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast