देशैभर लेखक दिवसको उल्लास

हिमाल प्रेस १६ वैशाख २०८० १९:२९ | Saturday, April 29, 2023
देशैभर लेखक दिवसको उल्लास

काठमाडौँ- नेपाली लेखक संघले शनिबार देशैभर विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी लेखक दिवस मनाएको छ। सम्पूर्ण लेखकले गौरव गर्ने लाइब्रेरी पर्वका दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णय नेपाली लेखक संघको केन्द्रीय सचिवालय बैठकले गरेको थियो।

सोहीअनुसार देशका विभिन्न भागमा प्रवचन, गोष्ठी र सम्मान समारोह आयोजना गरी यस वर्षदेखि वैशाख १६ बाट लेखक दिवस मनाउन थालिएको संघकी सचिव अनुपमा रेग्मीले जानकारी दिइन्।  यस क्रममा सातै प्रदेशका राजधानी, विभिन्न पालिका र जिल्ला सदरमुकामहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

वि.सं.१९८७ मा सरस्वती गुठी नामक सामाजिक संस्था स्थापना गरी त्यसमार्फत पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि, लेखक एवम् बुद्धिजीवीहरूले हस्ताक्षर गरी श्री ३ भीम शमशेरसमक्ष निवेदन पेस गर्दा श्री ३ महाराजले निवेदनमा हस्ताक्षर गर्ने सबै युवालाई दरबारमा बोलाउन लगाई दण्डित गरेको दिन (वैशाख १६) लाई नै राष्ट्रिय लेखक दिवसका मनाउन सुरु गरिएको हो। यस दिनलाई पुस्तकालय पर्वका रूपमा पनि चिनिन्छ।

काठमाडौँमा पनि नेपाली लेखक संघको केन्द्रीय कार्य समितिले काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा १ लाख रूपैँया राशिको राष्ट्रिय लेखक पुरस्कारसमेत प्रदान गरेको छ। प्रत्येक दुईदुई वर्षमा प्रदान गरिने यो पुरस्कार पहिलोपटक वरिष्ठ कवि एवम् संस्कृतिविद् बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लाई अर्पण गरिएको हो।

पुरस्कार वितरण समारोहका प्रमुख अतिथि उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राजनीतिक परिवर्तनमा स्रष्टा, साहित्यकारको अतुलनीय योगदान रहेको बताए। उनले भने, ‘राजनीतिक नेतृत्वले खुट्टा कमाइरहेका बेला स्रष्टा सहित्यकारका तर्फबाट परिवर्तनका लागि महत्त्वपूर्ण योगदान रह्यो।’

मुलुकमा देखिएको बेथितिको अन्त्य, अर्थतन्त्रलाई माथि उठाउनुपर्ने चुनौती समाधान गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको जनाउँदै मन्त्री खड्काले देश र जनतालाई आशा जगाउने गरी काम गर्नुपर्नेमा जोड दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजनीतिक परिवर्तनका लागि लेखेर लड्ने व्यक्तित्वका रुपमा काइँला रहेको र उनले स्रष्टाका तर्फबाट लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेको स्मरण गरे।  सो अवसरमा उपप्रधानमन्त्री खड्काले संघले प्रकाशन गरेको ‘लेखक’ पुस्तकको विमोचन गरेका थिए।

पुरस्कार प्राप्त गरेपछि मन्तव्य दिँदै कवि काइँलाले आफूले लेखकीय सत्ताको उन्नयनका लागि खासै योगदान दिन नसक्दा पनि नेपाली लेखक संघ पुरस्कार दिँदा आफूमाथि गम्भीर जिम्मेवारी आइपरेको विचार व्यक्त गरे।

प्रकाशित: १६ वैशाख २०८० १९:२९ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast