 
                             
                                            काठमाडौँ- तेह्रथुमको छथर गाउँपालिकामा स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ। नबिल बैंकको सहकार्यमा तालिम दिइएको हो।
राष्ट्रिय युवा परिषद्, गाउँपालिका र बैंकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार वैशाख १० गतेदेखि शनिबार (१६ गते)सम्म तालिम दिइएको बैंकले जानकारी दिएको छ।
तलिममा स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक व्यक्तिलाई उद्यममा सक्षम कसरी बन्नेलगायतका विषयमा जानकारी गराइएको थियो। तालिममा सहभागीका लागि तालिम उपयोगी हुने अपेक्षा गरिएको बैंकको भनाइ छ।
तालिमले उद्यमका लागि सक्षम बनाउने र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देशभित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनामा सहयोग पुग्ने बैंकको भनाइ छ।
उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनामार्फत दिगो आर्थिक विकासमा योगदान पुग्ने बैंकले बताएको छ। नबिल दिगो बैंकिङ अवधारणाअनुसार सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंक कार्यक्रममा सहभागी भएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुखलगायत नबिल बैंकका कोशी क्लष्टर प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति थियो। तालिममा ५७ जना उद्यमीको सहभागिता थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 