तीन लेखकका तीन कृति एकैसाथ विमोचन

हिमाल प्रेस २ वैशाख २०८० १९:२० | Saturday, April 15, 2023
तीन लेखकका तीन कृति एकैसाथ विमोचन

काठमाडौं– नयाँ वर्षको पहिलो दिन अर्थात् २०८० वैशाख १ मा एकै प्रकाशन गृहका ३ पुस्तक बजारमा आएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकूलपति गंगाप्रसाद उप्रेती, मकालु प्रकाशन गृहका प्रबन्ध निर्देशक वासुदेव ढकाल र बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईका पत्रकार चेतनाथ आचार्यका कृति बजारमा आएका हुन्।

शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँस्थित चिनियाँ दूतावासका उपप्रमुख काउन्सिलर वाङ सिनले एक साथ उक्त पुस्तकहरू विमोचन गरेका हुन्।

शुक्रबार विमोचित कृतिहरूमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति गंगाप्रसाद उप्रेतीको चक्रब्यूह नेपाली कविता संग्रहको अंग्रेजी अनुवाद ‘एन इम्पेनट्रेबल फोर्टिफिकेसन’, मकालु प्रकाशन गृहका प्रवन्ध निर्देशक बासुदेव ढकालको ‘चिनियाँ यात्री फाहियानको यात्रा विवरण’ र चेतनाथ आचार्यको ‘नयाँ युगमा चीन’ भन्ने पुस्तक छन्।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीचको सम्बन्धलाई प्रगाढ बनाउनका लागि यी किताबहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

ढकालले लेखेको चिनियाँ यात्री फाहियानको यात्रा विवरणले इतिहासदेखिको दुई देशबीचको सांस्कृतिक सम्बन्धमा जोड दिएको बताउँदै उप्रेतीका नेपाली कवितालाई अंग्रेजी भाषामा अनुवाद गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउने काम भएको भन्दै उनले प्रशंसा गरे।

आचार्यको ‘नयाँ युगमा चीन’ कृतिले नेपालीहरूलाई चिनियाँ नीति र विकासका लागि राम्रो खुराक दिएको श्रेष्ठको भनाइ छ।

नेपालले चीनबाट धेरै कुराको अनुभव लिन सक्ने र लिनुपर्ने उनले उल्लेख गरे। कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ दूताबासका काउन्सिलर वाङ सिनले नयाँ वर्षको पहिलो दिनमै चीन र नेपालबीचको सम्बन्धलाई महत्त्वपूर्ण टेवा दिने काम भएको बताए।

चीनमा सी चिनफिङको नेतृत्वमा भएको प्रगति र चिनियाँ विकास तथा गरिबी निवारणमा भएको प्रगतिलाई नेपाली भाषामा किताबै लेखेर जानकारी दिएकोमा उनले खुसी प्रकट गरे। कार्यक्रममा चीन लागि पूर्वराजदूत लिलामणि पौड्याल, चिनियाँ मिडिया ग्रुप नेपाली विभागकी प्रमुख चाङ युए (वर्षा), चीन अध्ययन केन्द्रका कार्यबाहक अध्यक्ष सुन्दरनाथ भट्टराईलगायतले नेपाल-चीन सम्बन्ध र कृतिहरूबारे धारणा राखेका थिए। तीनै पुस्तक मकालु प्रकाशनले छापेको हो।

प्रकाशित: २ वैशाख २०८० १९:२० | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast