तनहुँ १ मा मतपेटिका संकलन जारी

हिमाल प्रेस १० वैशाख २०८० २०:०२ | Sunday, April 23, 2023
तनहुँ १ मा मतपेटिका संकलन जारी

पोखरा– प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा शनिबार भएको मतदानको मतपेटिका संकलन क्रम जारी छ। शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म भएको मतदानमा ५१ दशमलब ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए।

६९ मतदानस्थलका १ सय ५२ मतदान केन्द्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नजिकका मतदान केन्द्रबाट मतपेटिका आइसकेको उनले बताए। टाढा टाढाबाट आउन बाँकी छ। मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने तयारी भएको ढकालले बताए। मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान गरी आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको छ।

तनहुँ १ मा ३ वटा मतदानस्थल अतिसंवेदनशील र २४ वटा संवेदनशील तोकिएको थियो। मतदान निकै शान्तिपूर्वक सम्पन्न भएको ढकालले बताए।

तनहुँ १अन्तर्गत पाँच पालिकाका ४२ वटा वडा पर्दछन्। व्यास नगरपालिकाको वडा १ देखि १४ मध्ये ५ र ६ बाहेकका वडा, भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकाका सबै वडा पर्दछन्। तनहुँ १ मा कुल १ लाख २३ हजार ३ सय ५० मतदाता हुन्।

यसअघि निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यो क्षेत्र रिक्त भएको हो।

उपनिर्वाचनमा ९ जना प्रतिस्पर्धामा रहे पनि खासगरी नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा छ। कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र रास्वपाका डा. स्वर्णिम वाग्लेबीचको त्रिपक्षीय भिडन्त छ।

प्रकाशित: १० वैशाख २०८० २०:०२ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast