डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

हिमाल प्रेस १५ वैशाख २०८० १४:५९ | Friday, April 28, 2023
डोल्पामा पुग्यो राष्ट्रिय प्रसारणको बिजुली

काठमाडौँ– डोल्पा जिल्ला विद्युत्‌को राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले रुकुमपश्चिमको मुसिकोट सबस्टेसनबाट आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै डोल्पा सदरमुकाम दुनैसम्म ११ केभी प्रसारण लाइन निर्माण गरी विद्युत् पुर्‍याएको हो।

प्राधिकरणले उक्त प्रसारण लाइनको परीक्षण गरी बिहीबारदेखि सदरमुकाम दुनैलगायत क्षेत्रमा विद्युत् प्रसारण सुरु गरेको छ। योसँगै कर्णाली प्रदेशका दसमध्ये ८ जिल्ला राष्ट्रिय ग्रिडमा जोडिएका छन्। अब हुम्ला र मुगुमा राष्ट्रिय प्रणालीको विद्युत् पुग्न बाँकी छ। मुगुमा आगामी असारभित्रमा ग्रिडमा जोड्ने गरी प्रसारण लाइन निर्माण भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्णाली प्रदेशका जिल्लामा विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको जानकारी दिए। ‘डोल्पामा राष्ट्रिय ग्रिड पुगेको छ, मुगुमा असारभित्रमा पुग्ने छ, हुम्लाका लागि बोलपत्रको प्रक्रिया पूरा गरी निर्माण व्यवसायी छनोट भइसकेको छ, अब छिट्टै काम सुरु हुने छ,’उनले भने।

प्राधिकरणले सदरमुकाम दुनैस्थित ठूलीभेरी नगरपालिकामा र त्रिपुरासुन्दरी नगरपालिकाका क्षेत्रमा २ सय किलोवाट जडित क्षमताको जैरीगाड साना जलविद्युत् गृहमार्फत पनि विद्युत् आपूर्ति गरिरहेको छ।

प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र युरोपेली लगानी बैंक (ईआईबी)बाट २२ करोड अमेरिकी डलर (करिब २८ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युतीकरण गरिरहेको छ।

डोल्पाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन जाजरकोटको भेरी नगरपालिकास्थित कुदु सबस्टेसनबाट चौखाबजार हुँदै डोल्पाको त्रिपुराकोटसम्म ३३ केभी प्रसारण लाइन निर्माणाधीन छ।

प्रकाशित: १५ वैशाख २०८० १४:५९ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast