 
                            
                                            पोखरा– उपनिर्वाचनअन्तर्गत मतदानको मिति छोटिँदै जाँदा तनहुँ १ मा दलहरूले चुनावी प्रचारलाई टुंगाउँदै छन्। १० वैशाखमा हुने मतदानको लागि बिहीबार (आज) मध्यरातसम्म मात्र प्रचारप्रचार गर्न पाइने आचारसंहिता छ।
रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त प्रतिनिधिसभा सदस्यको लागि तनहुँ १ मा खासगरी त्रिपक्षीय प्रतिस्पर्धा रोचक छ। उपनिर्वाचनका लागि ९ जनाको मनोनयन रहे पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारबीच नै कडा प्रतिस्पर्धा छ।
नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमाले का सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेले दुई साता लामो चुनावी प्रचारको मैजारो गर्न लागेका हुन्।
रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले दिउँसो चितवन र बारासहितका रास्वपाका ३ उम्मेदवारसँग संयुक्त चुनावीसभामा भाग लिँदै छन्। नेकपा एमालेका उम्मेदवार खनाल र कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दुवै मतदातासँग भोट माग्नमै व्यस्त छन्।
कांग्रेस उम्मेदवार भट्टराई पार्टीको विरासत जोगाउँदै आफ्नो जित निकाल्ने पक्षमा हुँदा एमालेका खनाल र रास्वपाका डा. वाग्ले कांग्रेसको विरासत भत्काउन चाहन्छन्। कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्लेले विगतमा रामचन्द्रले ल्याएको भोटभन्दा बढी ल्याउने दाबी गरे। उनी कांग्रेसलगायत वामलोकतान्त्रिक गठबन्धनको भोट नै बढी भएकोले कांग्रेसको जित्ने आधार हो भन्छन्।

१० दलीयत गठबन्धनमा तनहुँ १ मा प्रभाव पार्ने भनेको कांग्रेससहित माओवादी, एकीकृत समाजवादी, जसपा मात्र हुन्। ‘हाम्रा मतदाता विचलित छैनन्, एमालेका बरु विचलित छन्। रास्वपाले विगतमा ६ हजार ल्यायो, अहिले ६ हजार बढाउँला। त्यो पनि उसको लागि ठूलो उपलब्धि हो,’ वाग्ले भन्छन्।
रास्वपाका गण्डकी प्रदेश प्रवक्ता विकास भूर्तेलले आफ्नो दलले सबै वडामा पुगेर मतदातालाई भेट्दा जनता निकै उत्साहित भएको बताए। उनले यसपालि तनहुँ १ मा विगतका सबै किल्लाहरू भत्किने उनको दाबी छ।
नेकपा एमालेका उम्मेदवार खनालले प्रचारको अन्तिम दिन रिस्तीका मतदाता भेट्दै छन्। चुनावी प्रचारप्रसार कमिटी संयोजक भगवती न्यौपानेका अनुसार यसपालि एमालेले चुनाव जित्ने उनको दाबी छ। प्रहरी पूर्वमहानिरीक्षक (आइजीपी)समेत रहेका उम्मेदवार खनालले सकेसम्म सबै ठाउँमा घरदैलो गर्ने प्रयास गरेको उनको भनाइ छ। कांग्रेस छाडेर रास्वपा छिरेका डा. स्वर्णिमले कांग्रेसको मत काट्ने भएकोले एमालेले गत आमनिर्वाचनमा पाएको भोटमात्र जोगाउन सके एमालेको जित सुनिश्चित गरेको एमालेको भनाइ छ।
तनहुँ चुनावका लागि विभिन्न पार्टीले वडा, क्षेत्र र प्रदेशमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरी चुनाव प्रचारप्रसार गरेका तीव्र पारेका थिए। चितवन र बारामा झैं तनहुँमा हुने उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठानको विषय बनाएका छन्।
गत ४ मंसिरको आमनिर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गर्दै तनहुँ १ मा निर्वाचित भएका थिए। पौडेलका निकटतम् प्रतिस्पर्धी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१, कांग्रेसविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६, रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। राप्रपाका विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ ल्याए। चुनावी प्रतिस्पर्धामा रहेका १५ उम्मेदवारमध्ये अन्यले साढे ३ सयभन्दा कम मत प्राप्त गरेका थिए।

समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत कांग्रेसले ल्याएको थियो। कांग्रेसले २० हजार १ सय ५८ मत ल्याउँदा एमालेले १६ हजार ६ सय ८३ र तेस्रो रास्वपाले १२ हजार ७ सय ७३ मत ल्याएको थियो।
जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहूँमा नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार पनि चुनावी प्रतिस्पर्धामा छन्।
विगतको मतान्तर र अहिले त्रिपक्षीय प्रतिस्पर्धाले भने तनहुँ १ मा ठूलो मतान्तरले हारजित भने नहुने विश्लेषण छ।
तनहुँ क्षेत्र १ अन्तर्गत भानु नगरपालिका, बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिका तथा व्यास नगरपालिकाको वडा १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ पर्छन्। चुनावका लागि ६९ मतदान स्थलमा १५२ मतदान केन्द्र तोकिएको छ।


 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 